Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


संसदको दुबै सदनमा दलित युवकको हत्याबारे सांसदहरुको रोष, संसदीय छानबिन गर्न कांग्रेसको माग


0
Shares

काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसले रुकुम पश्चिममा दलित युवकको हत्या भएको सम्बन्धमा संसदीय छानबिन हुनुपर्ने माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुबै बैठकमा कांग्रेसका सांसदहरुले घटनाको निष्पक्ष छानबीन र दोषीमाथि कार्वाही गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गरिनुपर्ने माग गरे ।

उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका हुन् । घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निष्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गरे ।

यसैगरी राष्ट्रिय सभाको बैठकमा पनि नेपाली कांग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको भन्दै घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

बैठकमा कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले मुलुकी ऐन २०२० मै छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै अहिले पनि दलितमाथि गैह्रदलितबाट आक्रमण हुनु लज्जास्पद हो भने ।

अधिकारीले अपराधसँग सम्बन्धित व्यक्तिलाई गरेको कारवाही प्रक्रिया र पीडितलाई गरेको सहयोगबारे गृहमन्त्री रामबहादुर थापासँग जानकारी माग गरे ।