१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


चौरजहारी घटना जातीय अहंकारवादको उपज भएको गृहमन्त्री थापाको भनाइ


0
Shares

काठमाडौं, जेठ १३ । गृहमन्त्री रामबहादुर थापाले पश्चिम रुकुमको चौरजहारीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज भएको टिप्पणी गरेका छन् ।

मंगलबार घटनाबारे राष्ट्रिय सभालाई जानकारी दिँदै मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवा युवतीलाई ‘भगाउन’ गएको भन्ने खुलेको भन्दै गृहमन्त्री थापाले त्यसमध्ये एकजना भने बीच बाटोबाटै फर्किएको जानकारी दिए ।

घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै उनले पश्चिम रुकुमको जिल्ला समन्वय समितिका अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाएको भन्ने सुन्नमा आएको तर त्यो समितिको कुनै औचित्य नहुने बताए । जिल्लामा बनाइएको समितिलाई घटना ढाकछोप गर्न बनाइएको हुनसक्ने आशंका गर्दै उनले केन्द्रबाट समिति बनाइएको जानकारी दिए ।

राष्ट्रिय सभा बैठकमा सांसदले उक्त घटनाबारे सरकारको जवाफ मागेका थिए । सांसदहरुले घटनामा संलग्ने सबै दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।

गत शनिबार राति जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १९ जना युवाका साथ रुकुमको चौरजहारी जाँदा केटीका आफन्तसहित गाउँलेले लखेट्ने क्रममा नवराजसहित तीनजनाको भेरी नदीमा हामफाल्दा मृत्यु भएको बताइएको छ । नदीमा हामफालेका अरु तीन जना अझै बेपत्ता छन् ।