२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कांग्रेसले निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने


39
Shares

काठमाडाैं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ ।

कांग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी यही भाद्र १० गतेदेखि २४ गतेसम्म आगामी निर्वाचनलाई लक्षित गरी सोहि अभियान सुरु गर्ने जानकारी गराएको हो । जनताकोबीचमा जाने, जनताको कुरा सुन्ने र कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरुकाे बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी अभियान संचालन गर्न लागिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार याे अभियानमा पार्टीका केन्द्रिय प्रतिनिधिहरु सबै जिल्लामा सहभागी हुनेछन । उनीहरुको नेतृत्वमा प्रदेश समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति हुँदै सोही अभियानमा वडा तहसम्मका पार्टीका समितिहरु परिचालित हुनेछन ।

उहाँले भन्नुभयो, ‘अहिले ‘जनताको साथमा कांग्रेस’ अभियान आउँदो भाद्र १० गतेदेखि संचालन हुन्छ । त्यसपछि दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि जनताकाबीचमा जाने कार्यक्रम हुन्छ । र, त्यसपछि निर्णायक उम्मेदवारहरु चयन भएपछि १६५ वटै संघको निर्वाचन क्षेत्र र ३ सय ३० वटा प्रदेशको निर्वाचनमा क्षेत्रमा चुनावी प्रचार अभियानको कार्यक्रम हुन्छ । हामीले मुलतः यो अभियान जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र त्यसलाई आत्मासात गर्ने र सँगसँगै नेपाली काँग्रेसको नेतृत्वमा हामीले के–के काम गर्यौं । के कस्ता उपलब्धी भए र आउने दिनमा के कार्यक्रम छन भनेर प्रस्तुत गर्छौ । यी विषयवस्तुमा केन्द्रित रहेर यो अभियान अगाडि बढछ । र, चुनावी तालमेल गरेर जाने भनेका छौं । यस विषयमा पनि त्यहाँ जानकारी लिने, परिस्थिति बुझ्ने र यसको आवश्यक्ताको बारेमा पनि हामी चर्चा, परिचर्चा गर्ने र त्यो किसिमको माहौल बनाउने अभियानको मूल उद्देश्य हुनेछ । ७७ वटै जिल्लामा पार्टीका केन्द्रिय सदस्यहरु परिचालित हुनुहुनेछ । भोलीनै पार्टी सभापतिको उपस्थितिमा उनीहरुलाई अभिमुखिकरण कार्यक्रम हुन्छ । केन्द्रिय प्रतिनिधिहरु सबै जिल्ला गएर जिल्ला कार्य समितिको बैठक राखेर विभिन्न तहलाई परिचालन गरी सो अभियानलाई सफल बनाउने योजना तय गर्नेछन ।’

प्रवक्ता महतले सत्तारुढ गठबन्धनबीचको सिट बाँडफाँडको टुंगो लगाउने काम कठिन नभएको बताउनुभयो । निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँड गर्ने कुरालाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले गठबन्धनमा आवद्ध दलहरु सबै वीनवीन हुने गरी त्यसको टुंगो लगाउने बताउनुभयो । प्रवक्ता महतले मतदातालाई स्वभाविक लाग्नेगरी सिटमा दावी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गर्नुभयो ।

त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उहाँको भनाइ थियो । प्रवक्ता महतले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि पनि आफ्नो पार्टीकाे नेतृत्वमा सरकार बन्ने गरी चुनावी प्रचार अभियानमा आफ्नो पार्टी केन्द्रित भएको बताउनुभयो ।