पोखरा, जेठ ११ । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले कोरोना भाइरस विरुद्धको लडाइमा एक भएर अगाडि बढ्ने संकल्प गरेका छन् ।
प्रदेशसभाको आइतबारदेखि सुरु बर्षे अधिवेशनमा बोल्दै विभिन्न प्रमुख संसदीय दलका नेताहरूले विश्वलाई नै तहसनहस बनाएको कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणमा एकजुट बन्नुको विकल्प नभएको धारणा राखेका छन् ।
प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले कोरोना साझा समस्याका रुपमा रहेको बताउँदै यसको सबैले मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।
कोरोनाको रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति सहित अर्थ व्यवस्थापन, आपूर्ति, अनुमगन जस्ता समितिले आ–आफ्ना तर्फबाट क्रियाशिल रुपमा काम गरिरहेको उल्लेख गरे ।
साझा शत्रु गरिबी र कोरोना भाइरस भएको भन्दै उनले सबै मिलेर सामना गर्नु पर्ने बताए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा विकास गर्न लागिएको भन्दै उनले अस्पतालमा सबै किसिमका सुविधा उपलब्ध हुने बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको महामारीका विरुद्धमा एकजुट हुनु पर्ने आवश्यकता औल्याए ।
आगामी नीति तथा कार्यक्रम तथा बजेटमा समेटिनुपर्ने आफ्ना सुुझावहरुको उचित सम्बोधन हुने विश्वास पनि व्यक्त गरे ।
उनले विपन्न श्रमिकदेखि उद्योग व्यवसायीलाई लक्षित गरेर विशेष राहत प्याकेज ल्याउन पनि उनले सुझाव दिए ।
अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ ।








प्रतिक्रिया दिनुहोस्