
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज शनिबार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उहाँले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिदा केन्द्रसँग नै निहित गरेको बताउनुभएको हो ।
मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पूरा गर्नका लागि पनि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनुभयो ।
उहाँले सहिदको सम्मानमा ‘सहिद स्मारक पार्क’ निर्माण गर्नुका साथै सहिद परिवारका सन्ततीहरुका लागि छात्रवृत्ति र ‘सहिद परिवार भत्ता’को व्यवस्था गरिएको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले दशकौंदेखि संघीय शासन व्यवस्थाका कारण पछाडि पारिएको कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै आन्दोलनको नेतृत्व गर्ने, सहभागी हुने र छुट्टै प्रदेश बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने सबैमा सम्मान व्यक्त गर्नुभयो ।
प्रदेश प्राप्तिको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्