
एजेन्सी, जेठ ११ । चिनियाँ विदेश मन्त्री वाङ यीले आफ्नो मुलुक र अमेरिकालाई खतरनाक शीत युद्धमा धकेल्ने प्रयास भइरहेको दावी गरेका छन् ।
अमेरिका भित्रका केही शक्तिले दुई देशबीचको सम्बन्धलाई आफ्नो फाइदाका लागि गलत दिशातर्फ लगिरहेको आशंका उनको छ ।
आइतबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै वाङले भने, ‘अमेरिका भित्रका केही राजनीतिक शक्तिहरु चीन–अमेरिका सम्बन्धलाई आफ्नो फाइदाका लागि गलत दिशामा लगिरहेका छन् । उनीहरु दुबै देशलाई नयाँ शीत युद्धमा धकेली रहेका छन् । यस्तो खतरनाक प्रयासले हामीलाई पछाडि धकेल्नेछ ।’
चीनलाई आफ्नो सम्प्रभुता रक्षा गर्दै प्रगतिको बाटोमा अगाडि बढ्ने अधिकार रहेको भन्दै उनले अमेरिकाको परिवर्तनमा चीनलाई कुनै चासो नभएको र अमेरिकाले चीनको प्रगति पथलाई रोक्न नसक्ने प्रष्ट गरे ।
विदेश मन्त्री वाङले कोरोनाभाइरसको महामारीबारे चीनलाई क्षतिपूर्ति तिराउने कसैले सोचेको छ भने त्यो दिवास्वप्न हुने चेतावनी पनि दिए । उनलले कोरोना महामारीको क्षतिपूर्ति चीनले तिर्ने सवाल नै नहुने प्रष्ट गरे ।
अमेरिकाले वुहानको प्रयोगशालाबाट भाइरस लिक भएको, चीनले शुरूमा सूचना लुकाएको त्यसवापत उसलाई दण्डित गर्नुपर्ने बताइरहेका बेला चीनले यस्तो नसोच्न चेताएको हो ।
अमेरिका र चिनियाँ सहकार्यले दुबै देशलाई फाइदा पुग्ने भन्दै उनले आपसी वैमन्यस्यताले दुबैलाई घाटा हुने प्रष्ट गरे । संसारका पहिलो र दोस्रो अर्थतन्त्र भएका अमेरिका र चीन पछिल्लो समय व्यापार युद्धमा रहँदा त्यसको असर विश्व बजारमा परिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्