
एजेन्सी, जेठ ११ । चीनको स्वायत्त प्रदेश हङकङमा चीन सरकारले ल्याउन लागेको एक कानूनविरुद्ध सडक प्रदर्शन शुरु भएको छ ।
चीनले सुरक्षा सम्बन्धी नयाँ कानून ल्याउने भनेपछि प्रजातन्त्र पक्षधरहरु विरोधमा सडकमा ओर्लिएका हुन् । प्रदर्शन हिंसात्मक बनेको छ भने प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको सुरक्षा सम्बन्धी नयाँ कानूनले हङकङको अस्तित्व नै अन्त्य गर्न सक्ने बताउँदै आएका छन् । कोरोनाको त्रासकै बीच पनि सयौँ प्रदर्शनकारीले हङकङको सिटी सेन्टरमा जम्मा भएर प्रदर्शन गरेका हुन् ।
प्रजातन्त्र पक्षधरहरु चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून हङकङको आधारभूत स्वतन्त्रता र कानूनी शासनको भावना विपरित रहेको भन्दै कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुने बताउँछन् ।
सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरीय स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ । चीनको हिस्सा भएर पनि हङकङमा अलग शासकीय प्रणाली छ ।
गत वर्ष पनि सुपूदर्गी सम्बन्धी विधेयकको विरोधमा दशौँ लाख मानिसले हङकङमा सात महिनासम्म प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण सरकारले विधेयक फिर्ता लिएको थियो । तर अहिले फेरि सुरक्षासम्बन्धि नयाँ कानून ल्याउन लागेपछि त्यहाँ तनावको अवस्था देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्