१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि योजनाहरु बनाउन आग्रह


91
Shares

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरुको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यक्ताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार पार्नुपर्ने मुलुकसामू विद्यमान चुनौतिको सामना गरेर अघि बढन अस्पतालहरुको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पार्नु भयो । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६३ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै उहाँले सो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउन समेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराउनु भयो । उहाँले भन्नु भयो, ‘स्वास्थ्य सेवाको विशिष्ट आवश्यक्ताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार गर्नु मुलुकको सामू विद्यमान ठूलो चुनौति हो । स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालिन र दीर्घकालीन योजनाहरु निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । नेपाल सरकारमा सम्वद्ध संस्थाहरुले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु । अस्पतालको सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउनका लागि आवश्यक व्यवस्थापकीय एवम् प्राविधिक सुधार गर्दै गुणस्तरीय सेवा प्रदान गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्दै कठिन परिस्थितिमा समेत कर्तव्यनिष्ठ भई निरन्तर रुपमा विरामीको सेवामा समर्पित अस्पतलमा कार्यरत सम्पूर्ण डाक्टरहरु, नर्सहरु, स्वास्थ्यकर्मी एवम् कर्मचारीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

राष्ट्रपति भण्डारीले कोभिडको कठिन घडीमा पनि बिरामीहरुको उपचारको काममा कमी हुन नदिएको भन्दै सो अस्पतालका चिकित्सकहरुसहितका स्वाथ्यकर्मीहरुको पनि प्रशंशा गर्नु भयो । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले आम जनताले सेवा पाउने गरी सो अस्पतालको सेवा सबै जिल्ला र प्रदेशहरुमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले त्यसका लागि सरकारले आवश्यक अत्याधुनिक मेसिनहरु नेपाल भित्र्याउने कामलाई अघि बढाएको पनि बताउनु भयो । राज्यमन्त्री केसीले भन्नु भयो, ‘निकट भविष्यमा विश्वमा रहेका अत्याधुनिक मेसिनहरु, औजारहरु भित्र्याउने र सेवा विस्तार गरेर त्यसलाई सर्वसुलभ बनाउने मन्त्रालयले योजना बनाएको छ । आम जनतालाई सो सेवा पाउने गरी सबै जिल्ला र प्रदेशहरुको प्रसुती सेवासहितको अवस्पतालको व्यवस्था गरिनेछ ।’

राज्यमन्त्री केसीले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सरकार प्रयासरत रहेको पनि बताउनु भयो ।