पूर्वराज्यमन्त्री चौधरीको निधनप्रति देउवाद्धारा दुःख व्यक्त - Image Khabar
Everest Bank

पूर्वराज्यमन्त्री चौधरीको निधनप्रति देउवाद्धारा दुःख व्यक्त

काठमाडौं, जेठ ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वराज्यमन्त्री दूर्योधनसिंह थारु चौधरीको निधनप्रति दुःख व्यक्त गरे ।

पूर्वराज्यमन्त्री चौधरीको शुक्रबार बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

स्व चौधरीले कांग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताए ।

स्व चौधरी २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

वि.सं २०५६ मा संसद्मा निर्वाचनपछि चौधरी स्थानीय विकास राज्यमन्त्री थिए । स्व. चौधरीले विसं २०२८ मा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नुभएको कांग्रेसले जनाएको छ ।

पार्टीका विभिन्न पदमा रहेर स्व. चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उनका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्