
नेपालगन्ज, जेठ ९ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट शुक्रबार ‘डिस्चार्ज’ भएका छन् ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना डिस्चार्ज भएका हुन् ।
कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरुसमेत छन् ।
‘आइसोलेसन’मा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घन्टाभित्र दुईपटक गरिएको ‘पीसीआर टेस्ट नेगेटिभ’ आएपछि डिस्चार्ज गरिएको हो ।
आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले बाँकी सातजनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
कोरोना ‘पोजिटिभ’ देखिँदैमा आत्तिनुनपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्