Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


मुख्यमन्त्रीसहित १६५ जनाको रिपोर्ट नेगेटिभ


0
Shares

सुर्खेत, जेठ ९ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १६५ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको थियो । जेठ ११ गते प्रदेशसभाको आह्वान गरिइएको छ ।

मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ‘नोजल स्वाब’ दिए ।

त्यसैगरी कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही पत्रकारसहित १६५ जनाको ‘नोजल स्वाब’ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. चेतनारायण अधिकारीले जानकारी दिए ।

प्रदेशसभा सचिव जीवराज बुढाथाकीले सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको र यसले निर्धारित मितिमा बैठक शुरु हुने जानकारी दिए ।

उनले भने, “प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ । सामाजिक दूरी कायम गरेर सदस्यहरुलाई आशनग्रहण गराउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने बताए । रासस