१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै


0
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जनले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणका क्रममा नौ व्यक्तिको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए ।

“चन्द्रागिरी नपाका वडा नं १२ बलम्बु, वडा नं १३ पुरानो नैकाप र वडा नं १४ नयाँ नैकापमा गरिएको १ सय १३ जनाको परीक्षणमा नौ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो”, उनले भने ।

आरडिटी रिपोर्ट पोजेटिभ देखिएका नौ व्यक्तिको पिसीआर परीक्षण गर्न लागिएको चन्द्रागिरि नपाले जनाएको छ ।

आरडिटी पोजेटिभ देखिएसँगै चन्द्रागिरि नपाले क्वारेन्टिनको क्षमतालाई  समेत विस्तार गरेको छ ।

नगर प्रवक्ता महर्जनले थानकोट प्राथमिक अस्पताल र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टिन विस्तार गर्न लागिएको जानकारी दिए ।

चन्द्रागिरिले आजदेखि १०० श्ययाको क्वारेन्टिन थप गरेको छ । कोरोना सङ्क्रमणको रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिलाई क्वारेन्टिन र गम्भीर बिरामीलाई आइसोलेसनमा राख्नका लागि क्वारेन्टिन विस्तार गर्न लागेको हो ।

केही दिनअघिमात्र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि चन्द्रागिरि नपाले नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई प्राथमिकता दिँदै आएको छ ।

चन्द्रागिरिले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि प्रवेश गरेका व्यक्तिको लगत सङ्कलन गरी कोरोना परीक्षणलाई तीव्रता दिएको नगरप्रमुख घनश्याम गिरीले बताए ।

हालसम्म चन्द्रागिरि नपाले ५०० भन्दा धेरै व्यक्तिको पिसीआर र आरडिटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ ।