जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व आज देशैभर धुमधामका साथ मनाइँदै « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व आज देशैभर धुमधामका साथ मनाइँदै

के छ यसको प्राचिन महत्व ?

156
Shares

काठमाडौं । जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व आज (शुक्रबार) देशैभर धुमधामका साथ मनाइँदै छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँने गरिन्छ ।सप्तऋषि (कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यो पर्व ऋषितर्पणी नामले पनि चिनिन्छ । यो दिन धेरै चाड पर्ने हुनाले सबै चाडहरुको समष्टीगत रुपलाई जनै पूर्णिमा अर्थात रक्षा बन्धन भन्ने चलन छ ।

यो चाडमा विशेष गरी जनै लगाउनेहरूले पुरानो जनै फेरेर नयाँ जनै लगााउने गर्दछन् । हिन्दू दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । यो ब्राम्हणद्वारा मन्त्रिएर धारण गरिन्छ । त्यसैले जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । जनैका दुइवटा शिखाहरू मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

ब्राह्मण र क्षेत्रिय पुरुषहरुले हिन्दू परम्परा अनुसार जनै अर्थात यज्ञोपवित लगाउने चलन रहि आएको छ ।त्यसैगरी जनैसँगै हातको नाडिमा ब्राम्हणद्वारा रक्षा बन्धनका रुपमा मन्त्रेको धागो अर्थात रातो वा पहँलो डोरो बाँध्ने चलन रहेको छ ।

विधिपूर्वक जनै र डोरो धारण गर्न यजमानहरू बिहान सबेरै आ–आफ्ना ब्राम्हण र गुरु पुरोहितकहाँ जाने गर्दछन् । त्यसैगरी ब्राम्हण पुरोहितहरु पनि बिहान सबेरै नुवाइ धुवाई गरेर शुद्ध भई यजमानको घर घरमा जनै र डोरो बाँधिदिनका साथै टीका लगाइदिन जाने चलन छ । यसको बदलामा यजमानहरुले पनि टीका लगाएर गुरु पुरोहितलाई दान दक्षिणा आदि दिने चलन छ । जनै पुरुषहरुले मात्रै धारण गर्ने गर्छन भने डोरो भने महिला र पुरुष दुवैले हातको नाडीमा बाँध्ने गर्छन ।रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । यसो गर्दा मृत्य पछि स्वर्ग जाने बेला बैतर्णी नदी सजिलै पार गर्न सकिने धार्मिक विश्वास छ ।

सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको पाइन्छ ।

यो चाडमा दिदीवहिनीहरुले आफ्ना दाजू–भाइका दाहिने हातको नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी बाँधिदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन बढी छ ।

जनै धारण गर्नेहरुले अघिल्लो दिन कपालमुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी ब्रत बस्ने पनि गर्दछन् । यसरी व्रत बसेका तागाधारीले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गर्छन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

नेवार समुदायमा जनै पूर्णिमाको दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ। नेवार समुदायका राजोपाध्याय ब्राह्मण र क्षेत्री (छ–थरी) श्रेष्ठहरूले संकल्प गरी नयाँ जनै लगाउने चलन छ । यस दिन परम्परा अनुसार नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको भए शरीरमा तापसञ्चार हुन्छ भन्ने मान्यता छ । क्वाँटी झोलिलो तरकारी हो । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई “न्वाँगी“ भनिन्छ ।

जनै पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड, जुम्लाको दानसाधु त्रिवेणी,काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, जनकपुरको गङ्गासागर तथा धनुषसागर आदि स्थानमा पवित्र स्नान गरी भगवान शिवको पूजा अर्चना गर्ने भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ ।