१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


सेनाले चीनबाट पहिलोपटक विमानमार्फत ल्यायो १८ दशमलव ८४ टन स्वास्थ्य सामग्री


0
Shares

काठमाडौं । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत १८ दशमलव ८४ टन स्वास्थ्य सामग्री आज काठमाडौं ल्याइएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार स्वास्थ्य सामग्रीहरुमा पीसीआर किट, पीपीई, एन ९५ मास्क, ग्लोब्स्लगायतका छन् ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो ।

सेनाले वैशाख पहिलो साता सरकार र सरकारबीच जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि चिनियाँ वाणिज्य मन्त्रालयसँग दुई अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता गरेको थियो ।

सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो । सेनाले जम्मा ३४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ ।

त्यसमध्ये जहाजमार्फत ४७ दशमलब ५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ । सेनाले पहिलोपटक आज जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो ।