
मोरङ, भदौ १ । ग्रामथान गाउँपालिका–३ सिद्राहामा शुक्रबार बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् ।
विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् ।
आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।
प्रहरीकाअनुसार दुवैजना घुम्न भनेर शुक्रबार बिहान को१७प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।
घुमघामकैक्रममा भट्टराईले आफूसँग रहेको धारिलो हतियार प्रहार गरेर प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रेमिकाले आफूलाई धोका दिएर अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको भट्टराईले स्वीकार गरेको प्रहरी उपरीक्षक केसीले बताए ।
प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवै चढेर गएको स्कुटर बरामद गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्