
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, जेठ ५ । कोरोनाभाइरस संक्रमितको सम्पर्कमा आएका एकै परिवारका व्यक्तिहरुमा पनि कोरोना ‘नेगेटिभ’ देखिएको छ ।
एकै परिवारका एकजना व्यक्तिमा ‘पोजिटिभ’, अर्कोमा नेगेटिभ किन देखिन्छ त ? ठूलो प्रश्न उठेको छ ।
स्वास्थ्य मन्त्रालयले भने बिरामीको परिवारको अध्ययन गरेपश्चातमात्र यसको ठोस कारण भन्न सकिने जनाएको छ ।
यही जेठ १ गते कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको निकट सम्पर्कमा रहेका परिवारका सदस्यमा कोरोना संक्रमण देखिएन । नवजात शिशुदेखि उनको श्रीमान्मा कोरोना नेगेटिभ देखियो ।
काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा र छोरामा कोरोना पोजिटिभ देखिँदा बुहारीको रिपोर्ट नेगेटिभ देखियो ।
यस्तै, काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत् कपिलवस्तु जिल्लाकी ६ वर्षीया बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिँदा उनलाई भेट्न आउने अर्का व्यक्तिमा भने संक्रमण देखियो । यी त केही घटनामात्र हुन् ।
हाल कोरोना पोजिटिभ देखिएका एकै परिवारका एकजनामा संक्रमण देखिँदा अर्को व्यक्तिमा नेगेटिभ देखिने गरेको छ ।
यस्तो के कारणले हुन्छ ? यसबारे हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई सोधेका थियौं ।
जनस्वास्थ्यविद् डा. शरद वन्तले संक्रमित व्यक्तिले अरुलाई सार्नसक्ने वातावरण नभएको पनि हुनसक्ने वा संक्रमित व्यक्ति अरुको सम्पर्कमा कसरी आए भन्नेले पनि अन्य व्यक्तिमा नसरेको हुनसक्ने बताए ।
रोगप्रतिरोधात्मक क्षमता र सुरक्षाका उपायले पनि एकै परिवारका अन्य व्यक्तिमा संक्रमण नदेखिएको हुनसक्ने डा. वन्त बताउँछन् ।
संक्रमितको संख्या बढ्दै जाँदा संक्रमण समुदायस्तरमै फैलिसकेको पुष्टि हुन्छ ।
तर, संक्रमण परिवारका सदस्यलाई नभएर अन्य व्यक्तिलाई हुनुले जोखिम झनै बढाएको छ । संक्रमण फैलन नदिन यतिबेला सावधानीका उपाए अपनाउनु नै उत्तम विकल्प हो ।
प्रतिक्रिया दिनुहोस्