२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


संक्रमितको संख्या बढ्दै गए ब्राजिलको स्वास्थ्य सेवा प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा


0
Shares

एजेन्सी । ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताएका छन् ।

शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको मेयर ब्रुनो कोभासले बताएका छन् ।

कोरोना भाइरसको महामारी पछिल्ला दिनमा लागातार बढिरहँदा अस्पतालहरुमा आपतकालीन बेडहरुको माग अधिक भएको र यहि क्रम जारी रहेमा स्वास्थ्य सेवा प्रणाली चाँडै ‘कोल्याप्स’ हुने उनले बताए ।

अहिले शहरका अस्पतालहरु ९० प्रतिशत भन्दा बढी बेड प्रयोग भएको र यस्तै अवस्था रहे अबको दुई हप्ताभित्र माग धान्न नसक्ने उनले बताएका हुन् ।

कोरोना भाइरसका कारण ब्राजिलमा सबैभन्दा बढी प्रभावित भएको शहरमध्ये पर्छ साओ पाउलो, जहाँ अहिलेसम्म झण्डै तीन हजार मानिसको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण १६ हजार ११८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या ब्राजिलमा दुई लाख ४१ हजार ८० रहेको छ ।

ब्राजिलका स्वास्थ्य विज्ञहरुले भने संक्रमितको वास्तविक संख्या अहिले बाहिर आए भन्दा धेरै हुन सक्ने बताएका छन् ।

पर्याप्त मात्रामा परीक्षण नभएकाले संक्रमितको संख्या बढी भए पनि थाहा नभएको हुन सक्ने बताइएको छ ।

साओ पाउलोमा झण्डै एक करोड २० लाख मानिसको बसोबास छ । शहरका अधिकांश बासिन्दाले सामाजिक दूरीको नियम उल्लंघन गरेको देखिएको छ ।