
दीपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, जेठ २ । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेपनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार चुकेको सरोकारवालाहरुले बताएका छन ।
नीति तथा कार्यक्रममा सरकारले नेपाललाई ‘कोभिड–१९’ महामारीमुक्त देश बनाउने कार्यक्रम प्राथमिकतामा रहने जनाएको छ ।
तर, नीति तथा कार्यक्रम पुरानै ढर्राको रहेको बुझाइ स्वास्थ्यकर्मीको छ ।
कार्यक्रममा चिकित्सा शिक्षाको सम्बोधन गरिएको छैन । स्वास्थ्य ऐन व्यवस्थित गर्दै संघीय संरचनामा चिकित्सा सेवालाई प्रभावकारी बनाउने कार्यक्रममा ध्यान पुग्न सकेको छैन ।
कोरोना कहरबाट स्वस्थ्य क्षेत्रमा परिवर्तन गर्ने अवसर रहेपनि सो अवसर गुमाएको नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की बताउँछन् ।
त्यस्तै, सरकारले संघमा ३०० शय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने भनेको छ ।
संघ र सातै प्रदेशमा सरुवारोग अस्पताल निर्माण गर्नेपनि कार्यक्रममा उल्लेख छ ।
अस्पताललाई शय्याको आधारमा भन्दा पनि सेवा–सुविधाको आधारमा वर्गीकरण गर्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
स्वास्थ्य सेवा विभाग खारेज गरी राष्ट्रिय रोग नियन्त्रण केन्द्र बनाइने छ ।
सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको ‘एनसीडीसी’ स्थापना गर्ने घोषणा पनि गरेको छ ।
यस्तै, औषधि व्यवस्था विभाग खारेज गर्दै स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडीए) स्थापना गर्ने घोषण पनि गरेको छ ।
वडास्तरमा ४० वर्षमाथिका नागरिकलाई छ महिनाको एकपटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्