२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


स्वास्थ्य र शिक्षामा केही पुराना कार्यक्रमलाई निरन्तरता


0
Shares

काठमाडौं, जेठ २ । सरकारले स्वास्थ्य र शिक्षामा केही पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कोरोनाभाइरसको संक्रमण बढिरहेको समयमा पनि सरकारले स्वास्थ्यमा उल्लेख्य कार्यक्रम ल्याउन असफल भएको छ ।

जिल्ला र प्रादेशिक अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र समयअनुसारको शिक्षा प्रणाली विकास गर्नेलगायतका कार्यक्रमलाई निरन्तता दिइएको छ ।

प्रत्येक नाकामा ‘हेल्थडेस्क’ र ‘क्वारेन्टाइन’स्थल स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा अस्पतालाई ५०० शय्यासम्मको विशेषज्ञसहितको अस्पताल बनाउने कार्यक्रम ल्याइएको छ ।

क्यान्सर, कलेजो, मिर्गौला, महिलाहरुको पाठेघर परीक्षणलाई प्रभावकारी बनाउने कार्यक्रममा उल्लेख छ ।

त्रिवि शिक्षण अस्पतालमा सुरु भएको कलेजो प्रत्यारोपणलाई विस्तार गरिने र नेफ्रोलोजी, युरोलोजी केन्द्र प्रत्येक प्रदेशमा स्थापना गरिने लक्ष्य लिइएको छ ।

यस्तै, कान्ति बाल अस्पतालमा बालरोगसम्बन्धी अध्ययन गराउन सुरु गराउने र मनमोहन कार्डियो अस्पताल र सहिद गंगालाल अस्पतालमा बालरोगको उपचार गराउन सकिने व्यवस्था सुरु गराउने लक्ष्य राखिएको छ भने वीरेन्द्र सैनिक अस्पतालाई स्तरोन्नति गर्नेजस्ता कार्यक्रम समावेश गरिएको छ ।

यस्तै, सार्वजनिक विद्यालय सवलीकरण दशक सुरु गर्ने, विज्ञान अध्ययन केन्द्र सात प्रदेशमा नै स्थापना गर्ने, तीन वर्षभित्र पूर्वाधारसम्पन सामुदायिक विद्यालय बनाउने, अनलाइन कक्षा सञ्चालन गराउन सकिने गरी कार्यक्रम ल्याइएको छ ।