२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


नेपालमा कोरोना संक्रमित २५८, निको हुनेको संख्या ३६ पुग्यो


0
Shares

काठमाडौं, जेठ २ । ‘कोभिड–१९’ बाट संक्रमित भएकामध्ये शुक्रबार थप एकजना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ३६ पुगेको छ ।

२७ दिनअघि कोरोनाभाइरस देखापरेपछि कोशी अस्पतालमा उपचार गराइराखेका उदयपुरका २५ वर्षीय पुरुष शुक्रबार निको भएर घर गएका हुन् ।

त्यसैगरी, शुक्रबारदेखि कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत् समस्या संकलन गरी सम्बोधन सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था सुरु गरेको जानकारी गराए ।

सरकारले हालसम्म २३ हजार ९१४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ । ‘आरडीटी’ विधिबाट ६३ हजार ८५ मा नमुना परीक्षण गरेको छ ।

हालसम्म ‘क्वारेन्टाइन’मा बस्नेको संख्या १५ हजार ६८३ रहेको छ । अहिलेसम्म ‘आइसोलेसन’मा २६७ रहेका छन् ।

प्राप्त तथ्यांकअनुसार ‘रेडजोन’मा पर्नेको संख्या ३६३ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

त्यसैगरी, स्वमूल्यांकन फारम भर्नेको संख्या ३७ हजार १४७ रहेको बताइएको छ ।

शुक्रबार थप नौजनामा परीक्षण ‘पोजिटिभ’ देखिएको छ । संक्रमित हुनेमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका आठजना १८ देखि ३६ वर्षसम्मका पुरुष रहेका छन् ।

हालसम्म २५८ संक्रमित रहेका छन् । जसमध्ये २१० पुरुष र ४८ महिला छन् ।

कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले बिहीबार सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट पनि पठाएको छ । रासस

भिडियो हेर्नोस्