१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


प्रदेश २ ले कोरोना परिक्षणको दायरा बढायो


0
Shares

जनकपुर,जेष्ठ २ । प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि स्वाबको नमूना सङ्कलन साथै कन्टयाक्ट टेसिङको दायरा बढाइएको छ ।

ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौंबाट विशेष टोली यहाँ आइपुगेपछि दायरा बढाइएको हो ।

गत वैशाख ३० र ३१ गते कोरोना पुष्टि भएका ६० जनाको सम्पर्कमा आएका ३७० जनाको क टे«सिङ गरी स्वाबको नमूना सङ्कलन कार्य भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

यसका साथै  वीरगञ्जबाट फरार भएका दुई सङ्क्रमितमध्येका ४४ वर्षीय एक व्यक्तिमा मोटरसाइकलमा चढेर धुबिनीगाउँ पुगेको जनाइएको छ ।

सो मोटरसाइकल चालक सहित छ जना आफन्तको पनि स्वाबको  सङ्कलन गरिने भएको छ ।

अर्को व्यक्ति कसैको सम्पर्क नआएको बताइएको छ । दुवै जनालाई पक्राउ गरी पुनः भर्ना गरिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा बिहीबारदेखि स्वाबको नमूना सङकलन भइरहेको छ ।

यसका साथै सप्तरीको खड्गपुर, राजगढ र तीलाठी–कोइलाडी गाउँपालिकामा पनि  नमूना सङ्कलन गरिनेछ ।

सर्लाहीका ४५ वर्षीय सङ्क्रमितको सम्पर्कमा आएका तीन जनाको नमूना लिइसकिएको उनले जानकारी गराए ।

धनुषा र महोत्तरीको जोखिम क्षेत्र पहिचान गरी स्वाब सङ्कलन गरिनेछ ।

सिरहा जिल्लामा भारतबाट लुकीछिपी प्रवेश गर्नेहरुको सङ्ख्यामा वृद्धि भइरहेकाले यसतर्फ  स्थानीय समुदायलाई निगरानी गर्न र प्रवेश गरेका व्यक्तिलाई नजिकको क्वारेन्टाइनमा राख्न  जोड दिइएको छ ।

प्रदेशमा बिहीबारसम्ममा चार हजार ६०० जनाको स्वाब सङ्कलन गरिएको छ । सोमध्ये तीन हजार ७२९ को रिपोर्ट नेगेटिभ आएको छ भने ७७४ जनाको रिपोर्ट आउन बाँकी छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ र वीरगञ्जस्थित स्कूलको आइसोलेसनकक्षमा आठ जनाको उपचार भइरहेको  सचिव डा. घिमिरेले बताउनुभयो । यस प्रदेशमा हालसम्म ९९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ ।

पर्सामा सबैभन्दा बढी ८२, रौतहट, बारा र धनुषामा तीन–तीन र महोत्तरी र सर्लाहीमा दुई–दुई कोरोना सङ्क्रमित छन् ।

अन्य तीन जना भारतीय हुन् । सो सङ्क्रमितमध्ये वीरगञ्जका दुई र जनकपुरका एक गरी तीन सञ्चारकर्मी पनि कोरोनाबाट सङ्क्रमित भएका थिए । रासस