१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


कस्तो थियो बाजपेयी–मोदी सम्बन्ध !


0
Shares

नयाँ दिल्ली, भदौ १ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधनमा शोक प्रकट गर्दै आफूले पितातुल्य अभिभावक गुमाएको उल्लेख गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) का संस्थापकमध्येका एक नेता बाजपेयी र भारतका वर्तमान प्रधानमन्त्री मोदीबीच एक पुस्ताकै फरक छ । बाजपेयीले पार्टी र देशलाई नेतृत्व गरिरहँदा मोदी एउटा गुमनाम जीवन बिताइरहेका थिए ।

सन् २००० मा बाजपेयी प्रधानमन्त्रीका रुपमा अमेरिका भ्रमणमा जाँदा मोदी अमेरिकामै स्वेच्छिक निर्वासनमा थिए । गुजरातको राजनीतिमा केशुभाई पटेलविरुद्ध गुटबन्दी गरेको आरोपमा मोदीलाई गुजरातबाट बाहिर जान निर्देशन दिइएको थियो । त्यसपछि उनी अमेरिकातर्फ गएका थिए ।

बाजपेयीलाई अमेरिका भ्रमणकै क्रममा अमेरिकामै रहेका एक गुजरातीले मोदीको बारेमा जानकारी दिएका थिए । ती गुजरातीकै पहलमा अमेरिकामै बाजपेयी र मोदीबीच भेट भएको थियो ।

भेटमा बाजपेयीले मोदीलाई भने– ‘यसरी भागेर हुँदैन । कहिलेसम्म भाग्छौ ? दिल्ली आऊ ।’

केही दिनपछि मोदी अमेरिकाबाट दिल्ली फर्किए । 

अक्टोबर २००१ को एक दिन दिल्लीको एउटा श्मसान घाटमा जलिरहेको चिता सामू केही व्यक्ति उभिरहेका थिए । एउटा निजी टेलिभिजन च्यानलको क्यामेराम्यान गोपाल विस्टको अन्त्येष्टि थियो त्यो । त्यहाँ केही संचारकर्मी र एक–दुई राजनीतिज्ञ थिए ।

एक नेताको मोबाइलमा प्रधानमन्त्री निवासबाट फोन आयो । 

‘कहाँ छौ ?’

‘म श्मशान घाटमा..’ ।

‘त्यसो भए यहाँ आएर मसँग भेट्नु ।’

छोटो सम्वादसँगै फोन काटियो । फोन गर्ने व्यक्ति उनै बाजपेयी थिए भने फोन उठाउने व्यक्ति मोदी ।

त्यतिबेला मोदी भारतीय जनता पार्टीको मुख्यालयमै एउटा कोठामा बस्दै आएका थिए । फोन आएकै साँझ उनी प्रधानमन्त्री निवास पुगे । त्यहाँ उनलाई गुजरातको मुख्यमन्त्रीको जिम्मेवारी दिइयो ।

सन् २००२ मा गुजरात दंगापछि बाजपेयी अहमदाबाद पुगेका थिए । त्यहाँ उनले गुजरातका मुख्यमन्त्री मोदीतर्फ संकेत गर्दै भनेका थिए– मैले मुख्यमन्त्रीलाई राजधर्म निर्वाह गर्न भनेको छु । मलाई विश्वास छ, उहाँले त्यही भूमिका निर्वाह गरिरहनु भएको छ ।

लगत्तै गोवामा भएको भाजपा कार्यकारिणी बैठकमा बाजपेयीले गुजरातको मुख्यमन्त्री मोदीको राजीनामा माग गर्ने सोच बनाए । तर मोदी स्वयंले राजीनामा दिने घोषणा गरे । बैठकमा सहभागी अन्यले मोदीको राजीनामा स्वीकार नगर्न पार्टी नेतृत्वलाई दबाब दिए ।

अन्ततः मोदीले गुजरातलाई लामो समय नेतृत्व गर्दै देशलाई नै नेतृत्व गर्ने ओहोदासम्म आफूलाई पु¥याए ।

त्यही गोवामा सन् २०१३ मा भाजपाको कार्यकारिणी बैठक आयोजना भएको थियो जहाँ मोदीलाई पार्टीको प्रचार अभियान प्रमुखका रुपमा अघि सारिएको थियो । पार्टीको सो निर्णय लगत्तै दिल्ली आएर मोदीले बाजपेयीको घर पुगेर आशिर्वाद लिए । त्यतिबेला बाजपेयी सक्रिय राजनीतिबाट बिदा भइसकेका थिए भने मोदी आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण घडिमा थिए ।

सन् २०१४ मा प्रधानमन्त्री बनेलगत्तै मोदीले सबैभन्दा पहिला बाजपेयीलाई नै सम्झिए । उनले बाजपेयीको जन्मदिन अघि नै उनलाई देशको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’बाट सम्मानित गर्ने घोषणा गरे ।

पछिल्लो समय बाजपेयी अस्वस्थ्य भएर अस्पताल भर्ना गरिएपछि चारपटक सम्म मोदी अस्पताल पुगेर बाजपेयीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । गत बुधबार यतामात्र उनी दुई पटक अस्पताल पुगेका थिए ।

कतिपयले मोदीलाई बाजपेयीको सच्चा उत्तराधिकारी मान्दैछन् । (एजेन्सी)