भो कपन डुबानको कुरै नगर ! « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


भो कपन डुबानको कुरै नगर !


3.003k
Shares

काठमाडौं । गत बुधबार पानी परेपछि स्थलगत रिपोर्टिङका लागि डुबान क्षेत्रमा पुगेका कपनका पत्रकार पुण्यराज पुडासैनीलाई पीडित स्थानीयले भने, ‘भो कपन डुबानको कुरै नगर !’ लामो समयदेखिको निरन्तर डुबानले दिक्दारी बेहोर्दै आएका स्थानीय सर्वसाधारणले ‘लेखेर के हुन्छ  ?’ भन्दै त्यस्तो जवाफ फर्काएको पुडासैनीले कपन अनलाइनमा लेखेका छन्। आइतबारको दर्के पानीले स्थानीयलाई फेरि अत्याएको छ। अत्यासको यो क्रम लामो समयदेखि चल्दै आएको हो।

स्थानीयले भनेजस्तै हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेका खबर छापिन्छन्। सामाजिक सञ्जालमा त्यहाँका फोटाहरू राखिन्छन्। समाधानका लागि विभिन्न कमेन्ट आउँछन्। तर कपनवासीका लागि डुबान नियति नै बन्न पुगेको छ। जति कराए पनि, लेखे पनि डुबानको समस्या कम भएको छैन। बरु झन् नयाँनयाँ गल्छेडा र गोरेटाबाट भेल आउने गरेको छ।

कपन क्षेत्रदेखि मिलनचोक, गोपीकृष्ण, भृकुटीचोक, तेन्जिङचोकलगायत क्षेत्र हरेक वर्ष डुब्ने गरे पनि त्यसतर्फ कसैको ध्यान जान नसकेको स्थानीयको गुनासो छ। ‘पानी परेपछि बाटोमा रोकिएका गाडी र मोटरसाइकलसमेत बाढीले बगाउने अवस्था बनेको छ,’ भृकुटीचोकका विकास लामा भन्छन्, ‘तर यसको समाधानमा कोही अगाडि बढेको महसुस भएको छैन।’ बर्खासँगै आउने बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरे पनि कसैले चासो नदिएको गुनासो उनी गर्छन्। ‘पानी परेपछि बाटो खोज्नुपर्ने अवस्था आउने गरेको छ,’ लामा भन्छन्, ‘ससाना नानीबाबु सडकमै डुब्लान् भन्ने डर भइसक्यो।’ अघिल्लो वर्षको असोजमा बुढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजारनजिकैको ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विकको मृत्यु भएको उनले सुनाए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।