Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


नेपालमा ‘पीसीआर’बाट अहिलेसम्म साढे २२ हजार बढीको नमुना परीक्षण


0
Shares

काठमाडौं, जेठ १ । गएको वर्षको माघ १४ गतेबाट सुरु गरिएको कोरोनाभाइरसको ‘पीसीआर’ विधिबाट अहिलेसम्म साढे २२ हजारजना बढीको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा एक हजार ३६३ सहित अहिलेसम्म २२ हजार ६६४ ओटा पीसीआर परीक्षण भएका छन् ।

यसैगरी, ‘आरडीटी’ विधिबाट अहिलेसम्म ६२ हजार ३२७ ओटा परीक्षण भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार आठओटा परीक्षण भएका छन् ।

सरकारले परीक्षणको दायरा बढाउँदै लगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

अहिलेसम्म प्रदेश नम्बर–१ मा आठ हजार ६७३, प्रदेश नम्बर–२ मा पाँच हजार ९६४, वाग्मती प्रदेशमा नौ हजार ८६१ र गण्डकी प्रदेशमा छ हजार ७१६ ओटा आरडीटी परीक्षण भएका छन् ।

यस्तै, प्रदेश नम्बर–५ मा सात हजार ९११, कर्णाली प्रदेशमा सात हजार ३०७ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ८९५ जनाको आरडीटी परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताए ।

बिहीबार तीनजना कोरोना संक्रमित थपिएको प्रवक्ता देवकाटाले जानकारी दिए ।

उनकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा काठमाडौंका ३२ वर्षीय पुरुष र कपिलवस्तुका छ वर्षीया बालिकामा संक्रमण ‘पोजिटिभ’ देखिएको हो ।

यस्तै, भरतपुर अस्पतालमा भएको परीक्षणमा नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषमा संक्रमण पोजिटिभ देखिएको हो ।

१९८ पुरुष र ४८ महिला गरी नेपालमा बिहीबार अपराह्नसम्म २४६ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सरकारले प्रदेश नम्बर–१, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ ।

देशभरि २८ जिल्लामा कोरोना परीक्षण गर्ने योजना सरकारले बनाएको छ ।

भिडियो हेर्नोस्