Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कर्णाली सरकार नीति तथा कार्यक्रम बनाउन व्यस्त


0
Shares

मानवहादुर वली (इमेज)

सुर्खेत, जेठ १ । कर्णाली प्रदेश नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको खाका बनाउन व्यस्त छ ।

तर, कोरोनाका कारण कर्णाली प्रदेश सरकारले ‘सपना’मात्रै होइन, आगामी बजेटको आकारसमेत घटाउने भएको छ ।

चालू आर्थिक वर्षमा विनियोजित बजेट खर्च गर्न र लक्ष्यअनुसारको राजस्व संकलनमा कमजोर देखिएको कर्णाली प्रदेश सरकार नीति तथा कार्यक्रम बनाउन व्यस्त रहेको छ ।

कोरोनाको सम्भावित जोखिम नियन्त्रणमा लागेको कर्णाली प्रदेश सरकारले आन्तरिक राजस्वमा लक्ष्य पूरा गर्न नसक्दा संघीय सरकारको अनुदान कम हुने भन्दै चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार घटाउँदै छ ।

चालू आर्थिक वर्षमा कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये करिब १४ प्रतिशत अर्थात् चार अर्ब ६८ करोड १८ लाख रुपैयाँमात्रै बजेट खर्च भएको छ ।

पुँजीगततर्फ दुई अर्ब चार करोड ७६ लाख ९६ हजार र चालूतर्फ दुई अर्ब ६३ करोड ८२ लाख १७ हजार खर्च भएको सरकारी तथ्यांक छ ।

पुँजीगत खर्चका लागि २१ अर्ब २९ करोड विनियोजन गरिएपनि करिब १० प्रतिशतमात्रै बजेट खर्च भएको छ ।

आगामी वर्षको बजेटले स्वास्थ्य, शिक्षा, रोजगारीमूलक पूर्वाधार विकासलगायतका क्षेत्रलाई समेटेर चालू आर्थिक वर्षको बजेटकै सेरोफेरोमा ल्याउने तयारी भएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

टुक्रे विकास योजनामा बजेट विनियोजन हुँदा कार्यान्वयनमा समस्या देखिएको भन्दै चालू आर्थिक वर्षमा एक करोडभन्दा साना योजना निर्माण नगर्ने नीति तथा कार्यक्रमअनुसार तयार गरिने बजेटको कार्यान्वयन हुनेमा ढुक्क हुने स्थिति छैन ।

कोरोनाकै त्रासकाबीच आगामी बजेटले यो निराशा चिरेर कार्यान्वयनमुखी बजेट ल्याउन चुनौती छ ।

भिडियो हेर्नुहोस्