१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


संघीय संसद्को संयुक्त बैठक आज बस्दै


0
Shares

काठमाडौं, असार ३ । संघीय संसद्को संयुक्त बैठक आज बस्दै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि संयुक्त बैठक आह्वान गरेकी हुन ।

संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्न बैठक बोलाइएको हो । संविधानको धारा ६६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत सोमबार संयुक्त बैठक बोलाइए पनि स्थगित भएको थियो । संयुक्त बैठक कसले आह्वान गर्ने भन्ने कानुनी प्रावधान नभएकाले राष्ट्रपतिमार्फत् बैठक बोलाउन आग्रह भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदा भने राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक बसेको थियो । आज बोलाइएका संघीय संसद्को संयुक्त बैठकको जानकारी भने सांसदहरुलाई छैन ।

दुवै सदनको बैठक आज ११ बजे बस्दै छन् । त्यही बेला सांसदहरुलाई संयुक्त बैठकबारे जानकारी दिइने संसद् सचिवालयले जनाएको छ ।