१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


सुनसरीमा एक सहकारी संस्थाका सञ्चालक ४० लाख बाेकेर फरार

बचतकर्ताको बिचल्ली

390
Shares

काठमाडौं । भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ लिएर फरार भएपछि सुनसरीका बचतकर्ताहरुको बिचल्ली भएको छ ।

४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय जाँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको पीडितहरुले बताएका छन् । आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रदर्शनसमेत गरेका छन् ।

उनीहरुले भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक ३ सय जना बचतकर्ताको रकम लिएर फरार भएको आरोप लगाएका छन् । पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका बचतकर्ताले आफ्नो निक्षेप रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

यता सहकारी संस्थाका एजेन्टका रुपमा रहेका बचत संकलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट बचत संकलन गरी रकम जम्मा गरेपनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या भएको बताउनुभयो । आफू बारम्बार वचतकर्ताको निशानामा पर्दासमेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उहाँको भनाइ छ। साहूले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम नै जम्मा नगरेको भनि आरोप लगाउन थालेको बताउनुभयो।


यता सहकारी संस्थाका सञ्चालक समूहले भने बचतकर्ताबाट संकलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी गर्न समस्या परेको बताएको छ । संचालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा बचतकर्तासँग मतभेद हुँदा अवस्था असहज बन्न पुगेको बताउनुभयो ।