कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा


286
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

केही समयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभएको हो ।

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताउनुभयो ।

क्यान्सरजस्ता घातक रोगहरुको समयमै सहज ढंगले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरूले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिवद्ध रहेको पनि बताउनुभयो । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्दै उहाँले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत सरकार गरेको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदूपयोग गर्न नसकेको भन्दै वीर अस्पताल व्यवस्थापनको आलोचना गर्नुभयो ।

उहाँले वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

वीर अस्पतालका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले विरामीहरूको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गर्नुभयो । उहाँले पूराना भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यक्ता रहेको बताउनुभयो ।

कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अस्पतालले विरामीहरुले स्वास्थ्य उपचारका सकेको योगदान गर्दै आएको पनि बताउनुभयो ।