२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


जनप्रतिनिधिको मर्यादा राख्नोस् : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमन्डलसँग बिहीबार सिंहदरबारमा अन्तरक्रिया गर्दै उनले सो विषयमा चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढंगले नगरिदिएको गुनासा धेरै आएकाले त्यस विषयमा गम्भीर हुन जनप्रतिनिधिलाई आग्रह गरे ।

‘कतिपय ठाउँमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले महँगा गाडी किनेको, कतिपय वडाध्यक्षले डोजर किनेर सडक निर्माणमा ठेक्का आफैं लिएका गुनासा आएका छन्’–उनले भने–‘तपाइँहरु जनप्रतिनिधि हो, त्यसकारण जनताले नरुचाउने काम नगर्नोस् । जनताले जे रुचाउँछन्, त्यस काममा केन्द्रित हुनोस् ।’

प्रधानमन्त्री ओलीले कतिपय सुविधा कानुनले दिएको भनेर त्यसैअनुसार उपभोग नगर्न आग्रह गर्दै राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराए ।

‘त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न सक्नुपर्छ’–उनले भने–‘देश निर्माणको ठूलो जिम्मेवारी गाउँपालिकाका जनप्रतिनिधिको काँधमा आइपुगेको छ ।’

प्रधानमन्त्री ओलीले दुर्गम ठाउँमा साधन–स्रोतको कमी हुने भएकाले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘जतिसुकै चुनौती भएपनि देश निर्माणको जग भनेको तपाइँहरु नै हो’–उनले भने–‘दुर्गमका बस्ती, राज्यको सेवा–सुविधा नपुगेका जनतामा तपाइँहरुले नै सेवा प्रवाह गर्ने हो ।’

देश निर्माणका लागि जनताले स्थानीय जनप्रतिनिधिलाई ठूलो जिम्मेवारी दिएको नभुल्नसमेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सुगम ठाउँ नगरपालिका र महानगरपालिका हुने भएकाले त्यहाँका जनप्रतिनिधिलाई केही सहज हुुने तर दुर्गमका गाउँपालिकामा यस्तो स्थिति नहुने बताउँदै स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकाले आफ्नो आचरणमा विशेष ख्याल गर्न आग्रह पनि गरे ।

भेटमा महासंघका प्रतिनिधिले स्थानीय तहले भोग्नुपरेको समस्याकाबारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । रासस