२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


चीनले भन्सारमा ढिलाइ गर्दा सेनाले खरिद गरेको स्वास्थ्य सामग्री ग्वान्झाउ विमानस्थलमा अलपत्र


0
Shares

काठमाडौं । चीनले भन्सार क्लियरेन्समा कडाइ नीति अवलम्बन गरेसँगै नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आउन ढिलाइ भएको छ ।

सेनाले परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारीलगायत सरोकारवाला निकायको पटक पटक ध्यानाकर्षण गराएपनि स्वास्थ्य सामग्री नेपाल आउन ढिलाइ भएको हो ।

चिनियाँ पक्षले भन्सार प्रक्रिया पूरा नभएकाले सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको छ ।

भन्सार प्रक्रिया पूरा गर्न ढिलाइ गरेको भन्दै सेनाले पटक पटक ताकेता गरेपनि चिनियाँ पक्षले चासो नदेखाएको रक्षा मन्त्रालय स्रोतको दाबी छ ।

चीनबाट ल्याइने प्रत्येक स्वास्थ्य सामग्रीको त्यहाँको भन्सार कार्यालयले लेबलिङ गर्ने र त्यसपछि मात्र निर्यातका लागि प्रमाणपत्र दिने गरेको छ ।

स्थलमार्गबाट आउने केही सामग्री भने ग्वान्झाउबाट नेपालका लागि छुटिसकेको छ ।

चीनको ग्वान्झाउ विमानस्थलमा हवाई माध्यमबाट पहिलो चरणमा नेपाल ल्याउनुपर्ने झण्डै ४८ टन स्वास्थ्य सामग्री थन्किएको नेपाली सेनाले जनाएको छ ।

स्थलमार्गबाट ल्याइने झण्डै ३० टन स्वास्थ्य सामग्रीहरु भने ग्वान्झाउबाट हिंडिसकेको छ ।

ती सामग्रीहरु तातोपानी नाका हुँदै अर्को हप्तासम्ममा काठमाडौ आउने बताइएको छ ।

नेपाली सेनाले कोरोना भाइरस रोकाथाम र नियन्त्रणका लागि ३ सय ४२ टन स्वास्थ्य सामग्री चिनियाँ कम्पनीबाट खरिद गरेको छ ।

बाँकी सामग्रीहरु क्रमशः ल्याइने सेनाले जनाएको छ ।