–सुमि सिंह
आज मलाई मेरो स्वाभिमान
जताततै घाइते भएर दुख्छ,
मनभरी भक्कानो परेर दुख्छ
डाको छोडेर रुन नसक्दा छाती भित्र गाँठो परेर दुख्छ।
भारतको सीमामा भारतीयले उठाएको हतियार
मेरो देशको पहरेदार माथि बज्रदाँ दुख्छ,
एक पटक होइन पटक पटक मेरो देशको सुरक्षार्थ खटिएका
मेरो देशका रक्षक माथि भएको सांघातिक हमलाले दुख्छ ।
मेरो देशको सार्बभौम माथिको अत्याचार दुख्छ
यो छाती फुट्ला जसरी दुख्छ
सक्दिन सहन भरिन्छ गह,
तर देशको शासकको लाचारी देखेर
आँसु यसै गह मै सुक्छ ।
मेरो देशको गौरव माथि तेर्साइएको अपमानको शुल
मुटु भित्र छिरेर दुख्छ,
सयौं चिरा परेर मेरो स्वाभिमान गिरेर दुख्छ
मेरो राष्ट्रको गौरव छिन्न भिन्न भएर
धुलोमा छरिएको देखेर दुख्छ ।
मलाई मेरो राष्ट्रिय अमिलो भएर दुख्छ
मन मस्तिष्क र हृदयमा छट्पटिएर दुख्छ,
मेरो देशको रक्षा गर्ने ती वीर सिपाहीको छाती च्यात्न तानिएको पहिचान दुख्छ
मलाइ मेरो देशका स्वाभिमानी सिपाहीहरुको
शिर माथि टेकिएको परचक्री पाउको बोझ दुख्छ ।
मेरो स्वाभिमान सयौंं पटक थिलथिलो भएर दुख्छ
मलाई मेरो देशको गौरव पराइको पाउ मुनि
निरीह भएर झुकेको दुख्छ,
मलाई मेरो देशको स्वाधिनता
विश्वमा बहादुर भनेर कहलिएका वीर गोर्खालीको छातीमाथि बजारिएको
परचक्रीको मुक्का असह्य भएर दुख्छ।
मलाई मेरो देशको खोसिएको लिपुलेकको भुभाग दुख्छ
परचक्रीको अत्याचार सहनै नसक्ने गरेर दुख्छ
मलाई मेरो देशको अस्तब्यस्त राजनीति दुख्छ,
जनता आफ्नो देशमा पराइबाट लखेटिएका बेला
आफ्नै देशमा आफ्नै माटोमा पराइद्वारा अन्धाधुन्ध निर्धक्क पिटिएको बेला,
कुर्सीको लागि कुकुर एउटा हड्डीको लागि लुछाचुडी गरे जसरी नेताले खेलेको लडाइँ दुख्छ।
जनता रोगले त्रसित भोगले गलेर सडकमा छटपटाइ रहेको बेला
तिनै जनताको मृत्युको कामना गर्दै कात्रो माथिको भ्रष्टाचार च¥याएर दुख्छ
अनि,
अनि आफू आफू बिचको साम्प्रदायिक आक्षेप निर्बिकल्प भएर दुख्छ,
हामी भन्न बिर्सिएर म म भन्दै एक अर्कालाई दिएको सराप
भतभती पोलेर दुख्छ।
राष्ट्र भन्दा माथी राखिएको नेताको स्वार्थ आकाश भन्दा धेरै फिजारिएर दुख्छ
मलाई थिच्न हतारिएको देखेर अतालिएर दुख्छ,
मलाई पलपल मेरो स्वाभिमानको धज्जी उडाइएको देख्दा
रगत उम्लिएर दुख्छ ।
मलाई साच्चै मेरो स्वाभिमान किल्चिएको देखेर दुख्छ
मलाई मेरो राष्ट्र एकता मिल्किएको देखेर दुख्छ,
मलाई साँच्चै मेरो स्वाधिनता खोसिएको देखेर दुख्छ
मलाई मेरो सार्वभौम बेचिएको देखेर दुख्छ ।
मलाई आज आफैंंमा नेपाली हुनुको गर्व पनि
माटोमा मिल्किएको देखेर दुख्छ ।




प्रतिक्रिया दिनुहोस्