
कैलाली । पश्चिम तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरका रानाथारु बसोवास भएका गाउँमाहरूमा यति बेला डोला पर्वको रौनक छाएको छ ।
रानाथारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला राखेका छन् । साउन महिनाको शुरूमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो ।
सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारु समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने गर्दछन् । यसलाई उनीहरुको समुदायमा डोला भन्ने चलन छ ।
साउन १५ गते तीज मनाउने राना थारु समुदायले त्यसअघि डोला खेल्दै रमाइलो गर्ने गर्छन् । परम्परागत पहिरनमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्छन् ।
सामूहिक भेला हुने र सार्वजनिक ठाउँमा दाजुभाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन पुरानै रहेको स्थानीय मोनिका राना बताउनुहुन्छ ।
पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने विश्वास रहेको छ ।
दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामना गरी साउन १५ गते अवसरमा तीज मनाउने गर्दछन् । निरहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, बनाउने नेपाल रानाथारु समाजका अध्यक्ष कमलसिंह राना बताउनुहुन्छ ।
यस अवसरमा घर–घरमा बनाइएका परम्परागत आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन रहेको छ । दाजुभाइले तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको धनगढी उपमहानगरकी उपमेयर नन्दकला रानाको भनाइ छ ।
पछिल्लो समय धेरै समुदायहरूले आफ्नो पुरानो कला संस्कृति भुल्दै गए पनि राना थारु समुदायले भने केहि महत्त्वपूर्ण पर्वहरूको संरक्षण र सम्वर्द्धन गरेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्