
बैतडी । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ ।
एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका-१० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो । अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको सफलतापूर्वक इमरजेन्सी शल्यक्रिया गरी सफल उपचार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले बताउनुभयो ।
डा. धीरज जायसवाल, डा. दिपेश श्रेष्ठ, डा. रोशन चौधरी, डा. हिरा जोशी, डा. चैतन्य जोशी र डा. थानेश्वर न्यौपानेलगायतको टोलीले सफल रुपमा शल्यक्रिया गरेको हो । गत हप्ता भर्ना भएकी ती महिलाको शल्यक्रियापछि डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ । एपेन्डिसाइटिस एक गम्भीर रोग भएकोले समयमै उपचार नपाए एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिन सक्छ। विशेषज्ञका अनुसार यो रोगको लक्षण देखिने वित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ । एपेन्डिक्समा संक्रमण भएपछि यो रोग लाग्ने गर्छ ।
एपेन्डिसाइटिस हुँदा व्यक्तिको पेट पटक–पटक दुखिरहन्छ । एपेन्डिसाइटिस हुने व्यक्तिमा भोक कम लाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आउँछ । एपेन्डिसाइटिसको लक्षण थाहा भएमा छिटो शल्यक्रियाको आवश्यकता पर्छ । पेटको दुखाई सहनै नसक्ने लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने संभावना हुने भएकोले छिट्टै शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । जिल्ला अस्पताल बैतडीमा पहिलोपटक नौ डाक्टर उपलब्ध भएपछि सेवाप्रवाह पनि प्रभावकारी हुँदै गएको छ ।
दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई जना विशेषज्ञसहित ९ जना डाक्टरले सेवा दिन थालेका हुन्। अस्पताल स्थापना भएको २०३३ साल यता पहिलो पटक २ जना विशेषज्ञसहित ९ जना चिकित्सकले जिल्ला अस्पतालमा सेवा दिन थालेका अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल बैतडीमा गर्भवती महिलाहरुको शल्यक्रिया गरेर प्रसुती गराउने व्यवस्था रही आएको छ। अन्य शल्यक्रिया सेवाहरु पनि थप गरिने अस्पताल प्रमुख डा. श्रेष्ठले बताउनुभएकाे ।
प्रतिक्रिया दिनुहोस्