१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


निर्वाचनको तयारीका लागि एमाले सुरु गर्‍यो प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण


91
Shares

काठमाडौं । नेकपा (एमाले)ले आसन्न निर्वाचन तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो । मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरुवात गर्नुभएको छ ।

मंगलबार प्रदेश १ को विराटनगर, बुधबार बागमतीको काठमाडौं, साउन ८ गते गण्डकीको पोखरामा प्रदेशस्तरीय प्रशिक्षण हुने छ । अन्य प्रदेशको मिति भने चाँडै नै तोकिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँले आगामी निर्वाचनसम्म सबै कार्यकर्ताहरूमा कम्तीमा एउटा प्रशिक्षण कार्यक्रममा सहभागी हुनसक्ने गरी कार्यक्रम तय गरिएको उहाँले दाबी गर्नुभयो ।

एमालेले भौतिक उपस्थिति र भर्चुअल दुबै तरिकाबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संयोजनका लागि एमालेले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई सातवटा प्रदेशको जिम्मेवारी दिएको छ ।

प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमतीमा उपाध्यक्ष विष्णु पौडेल, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रशिक्षण कार्यक्रमको संयोजक तोकिएको छ ।

एमालेले स्थानीय तह निर्वाचनको परिणामपछि प्रतिरक्षात्मक मनोविज्ञान रहेका कार्यकर्तालाई त्यसबाट बाहिर ल्याउन देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो । प्रशिक्षणको विषयवस्तु र विधिको संयोजन भने स्कुल विभागले गरेको एमालेले जनाएको छ ।