सागर महर्जन (इमेज)
काठमाडौं, वैशाख २६ । पछिल्लो समय विश्वभर ‘रियालिटी शोज’को आकर्षण बढ्दै गएको छ ।
नेपालमा पनि भर्खरै बामे सर्न थालेको थालिएका रियालिटी शोजहरु ‘लकडाउन’का कारण फेरि थला परेका छन् ।
विश्वभर टेलिभिजन रियालिटी शोजको आकर्षण बढ्दो छ भने विभिन्न विधाका रियालिटी शोजहरु पनि आयोजना हुने गरेका छन् । त्यसरी नै नेपालमा पनि रियालिटी शोजको आकर्षण बढ्दोक्रममै छ ।
यही कारण विभिन्न रियालिटी शोजहरु आयोजना गरिनुका साथै अन्तर्राष्ट्रिय रियालिटी शोजका ‘फ्रेन्चाइज’हरु पनि नेपालमा आयोजना हुन थालेका छन् ।
नेपालमा आयोजना गरिएको पहिलो रियालिटी शो ‘प्रतिभाको डबली’ हो । जुन नेपाल टेलिभिजनबाट प्रसारण गरिएको थियो ।
त्यसरी नै नेपालमा पहिलो–पटक आयोजना गरिएको फ्रेन्चाइज शो ‘नेपाल आइडल’ हो । जुन एपी–१ टेलिभिजनबाट प्रसारण हुने गर्दछ ।
नेपाल आइडल अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘अमेरिकन आइडल’को फ्रेन्चाइज हो ।
त्यसरी नै नेपालमा पहिलो फेसन सम्बन्धित रियालिटी शो ‘ईमेज मेगा मोडल’ ईमेज च्यानलले निर्माण गरेको हो ।
हाल पनि विभिन्न रियालिटी शोजहरु निर्माण भइरहेका छन् भने कोरोनाको महामारीका कारण धेरैजसो नेपालमा आयोजना भइरहेका तथा हुने तरखरमा रहेका रियालिटी शोजहरु प्रभावित भएका छन् ।
कोरोनाका कारण प्रभावित भएका प्रसारणरत् रियालिटी शोजहरुमा ‘ईमेज मेगा मोडल सिजन ४’, ‘हिमालय रोडिज सिजन ३’, ‘नेपाल स्टार सिजन १’, ‘नेपाल आइडल सिजन ३’ रहेका छन् भने निर्माणको तयारीमा रहेका ‘डान्सिङ विथ द स्टार’, ‘दी भ्वइस अफ नेपाल’लगायत थुप्रै रियालिटी शोजहरु प्रभावित भएका छन् । जसले गर्दा निर्माण टिम तथा प्रतिस्पर्धीहरु समस्यामा परेका छन् ।
रियालिटी शोजका निर्माताहरुले रियालिटी शोजहरु प्रभावित हुँदा आर्थिक पाटोमा मात्र नभइ प्रतिस्पर्धामा समेत प्रभावित हुने बताएका छन् ।
विश्वभर आयोजना हुने गरेका टेलिभिजन रियालिटी शोजहरुले लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्ने गरेको छ । जसले गर्दा विश्वमा विभिन्न विधाका प्रतिभावान् व्यक्तित्वहरुले स्थान पाइरहेका छन् ।
नेपालमा पनि रियालिटी शोजहरुले प्रतिभावान् व्यक्तित्वहरु जन्माइसकेको कुरा सर्वविदितै छ ।
नेपालमा विभिन्न विधाका रियालिटी शोजहरु आयोजना हुने गरेपनि गायनसँग सम्बन्धित रियालिटी शोजहरुलाई धेरैले मन पराउने गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्