Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


किट सकिएपछि धनगढीमा कोरोना परीक्षण रोकियो


0
Shares

कैलाली, वैशाख २५ । धनगढी प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ ।

धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको ‘आरटी–पीसीआर’ मेसिनमार्फत् हुने कोरोना परीक्षण बन्द भएको हो ।

बुधबार राति चारजनाको परीक्षण भएकोमा किट सकिएपछि बिहीबबार परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ ।

पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र ‘आरएनए एक्पेक्सन’ किट आवश्यक हुने गर्दछ ।

पीसीआर किट भएपनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको जनाइएको छ ।

किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५० बढीको अहिलेसम्म नमुना परीक्षण गर्न सकिएको छैन ।

धनगढीमा प्रयोगशाला स्थापना भएपछि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउन बन्द गरिएको थियो ।

काठमाडौं र वीरगन्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन नसक्दा जोखिम बढेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताउँदै शुक्रबारसम्म संघीय सरकारले पठाउने जानकारी आएको बताए ।