काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज (शुक्रबार) भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
भारतीय जनता पार्टीको निमन्त्रणमा अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि दिल्ली जान लाग्नु भएको हो । भाजपाले प्रत्येक वर्ष आयोजना गर्ने नेतृत्व शिखर सम्मेलनमा सहभागी हुन उहाँ दिल्ली जान लाग्नुभएको जनाइएकाे छ ।
भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले अध्यक्ष प्रचण्डलाइ निमन्त्रणा गर्नुभएको हो । त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले उच्च स्तरीय भेटघाट गर्नसक्ने बताइएपनि भेटघाटको तालिका भने सार्वजनिक गरिएको छैन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने वातावरण मिलाउने प्रयास भईरहेको बुझिएको छ । अध्यक्ष प्रचण्ड भाजपा मूख्यालय पनि जाने कार्यक्रम रहेको छ । उहाँ आगामी साउन १ गते स्वदेश फर्कने कार्यतालिका तय गरिएको छ ।
यसैबीच, दिल्ली जानुअघि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन दलका नेताहरुसँग छलफल गर्नुभएको छ । शुक्रबार बिहान बालुवाटारमा भएको गठबन्धनको बैठकमा उहाँले आफ्नो भारत भ्रमणकाे विषयमा परामर्श गर्नुभएको हो।
प्रतिक्रिया दिनुहोस्