फुटपाथको विषयले नगरप्रमुखको आलोचना, सहज व्यवस्थापन मुख्य चुनौती « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


फुटपाथको विषयले नगरप्रमुखको आलोचना, सहज व्यवस्थापन मुख्य चुनौती


221
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा भर्खरै निर्वाचित भएका जनप्रतिनिधिका मुख्य चुनौतीको रूपमा काठमाडौं महानगरमा रहेका फुटपाथ व्यवस्थित गर्नु हो ।

उनीहरूले चुनावी एजेण्डाको रूपमा महानगरलाई व्यवस्थित बनाउने बताए पनि विवादरहित हुन सकेको छैन । हरेक जनप्रतिनिधिले महानगरलाई व्यवस्थित गर्न सडक पेटीमा व्यापार व्यवसाय गर्नेहरू नै पहिलो निशाना बन्ने गरेका छन् ।

हालै कठामाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले पनि फुटपाथ हटाएर व्यवस्थित बनाउने निर्णय गरेसँगै साना व्यापारीले विरोध जनाएका छन् । तर, पैदलयात्री र सर्वसाधारणले भने महानगरको निर्णयको समर्थन गरेका छन् ।

यद्यपि, उनीहरूले महानगरले गरेका निर्णयलाई नारामा मात्र सीमित नराख्न पनि खबरदारी गरेका छन् । हरेक पटकको नेतृत्वले व्यवस्थित गर्ने बताए पनि कार्यान्वयनमा आउन नसकेको उनीहरूको गुनासो छ ।

कतिपयले भने महानगरले फुटपाथमा राखिएका निर्माण सामग्री र अतिक्रमणलाई भन्दा पनि साना र पोके व्यापारीलाई मात्र निशानामा पारेको भन्दै कार्यशैलीको आलोचना गरेका छन् । यता महानगर भने कुनै पनि बहानामा फुटपाथ अतिक्रमण हुन नदिने पक्षमा छ ।

फुटपाथ अतिक्रमणले सडक दुर्घटना र शहरी सौन्दर्यमा असर परेको काठमाडौं महानगरका सहप्रवक्ता महेशकुमार काफ्ले बताउनुहुन्छ । व्यापार, पार्किङ र निर्माण सामग्री थुपार्न नभएर फरक क्षमता भएका र सामान्य मान्छे हिड्नका लागि फुटपाथ राखिएको उहाँको भनाइ छ ।

फुटपाथमा व्यवसाय गर्नु अनुचित रहेको काठमाडौंका एकथरी मानिसको तर्क छ । फुटपाथ व्यवसायबाटै कयौं परिवारको रोजीरोटी चलेकाले व्यवस्थापन गरिदिन उनीहरूको आग्रह छ । विकल्पविना साना र पोके व्यापारीलाई मात्र निशाना बनाउनु उचित नभएको उनीहरूको तर्क छ ।

तर, महानगरपालिका भने फुटपाथको विकल्प केन्द्र सरकारले नै दिने भएकाले आफूहरूको क्षेत्राधिकार नरहेको भन्दै तर्किन्छ । सडकलाई नै रोजीरोटीको माध्यम बनाउन नहुने उसको भनाइ छ ।

महानगरपालिकाले सडक र सहरको सौन्दर्य र सहज व्यवस्थापनमा ध्यान दिन जरुरी छ । तर, फुटपाथ खाली गर्ने बहानामा पोके व्यापारीलाई मात्र निशानामा बनाउनु भने उचित होइन । त्यसैले सबैलाई समान व्यवहार गर्दै महानगरलाई स्वच्छ र सौन्दर्य बनाउन जरुरी छ ।