Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


एमालेको अर्थ विभागमा नाम देखिएपछि संसदमा गभर्नरमाथि प्रश्न, कटाक्ष र व्यङ्ग्य


1.3k
Shares

काठमाडौं । प्रतिनिधिसभा सांसदहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्नै प्रश्न बर्साएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेकपा (एमाले)को अर्थ विभागका गभर्नरको नाम आएकोप्रति आपत्ति जनाउँदै प्रश्न, व्यङ्ग्य र कटाक्ष गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना बिशंखेले गभर्नर अधिकारीमाथि छानविन गर्न माग गर्नुभयो । नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनी समावेश गरिएको बताउँदै उहाँले त्यहाँ लेखिएको व्यक्ति गभर्नर नै हुनसक्ने भएकाले छानविनको माग गर्नुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले पनि गभर्नर अधिकारीमाथि कटाक्ष गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताउनुभयो ।

थापाले तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, उकासिँदो मूल्यवृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने र परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणालीभन्दा बाहिर रहेको पैसा सिस्टममा ल्याउने कुरा र केही व्यवसायिक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्ने बताउनुभयो ।

सांसद थापाले शेयर बजारलाई सुधार गर्ने भनेर गत वर्ष ४/१२ को नीति ल्याइए पनि त्यो नीतिले ठूलालाई पोस्ने र सानालाई कस्ने काम गरेको दाबी गर्नुभयो ।

राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआएपछि अब त्यो नीति खारेज गर्नुपर्ने र खारेज नभए लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा पुग्ने उहाँले बताउनुभयो ।

उहाँले यो सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कटाक्ष गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका अर्थ योजना विभागका सदस्य मित्र एम अधिकारीलाई नभएको बताउनुभयो ।

त्यस्तै एमाले सांसद कृष्णभक्त पोखरेलले सत्तापक्षको सांसदहरूले अर्थमन्त्रीको अनैतिक काम लुकाउनको लागि गभर्नरमाथि प्रश्न उठाएको बताउनुभयो । उहाँले गभर्नर अधिकारी आफैँले यो विषयमा स्पष्टीकरण दिएपछि संसदमा प्रश्न उठाउनुको औचित्य नभएको बताउनुभयो ।

सांसद पोखरेलले अर्बौं रुपैयाँलाई वैध बनाउन गठबन्धन सरकारले दिएको आदेश नमान्दा श्रीलंका हुने रहेछ भन्ने सत्तापक्षका सांसदहरुको बुझाईप्रति दयाभाव लागेको बताउनुभयो ।

त्यस्तै सांसद अमृता थापाले राष्ट्र बैंक ऐन विपरीत अमुक पार्टीको कार्यकता राष्ट्र बैंकको गभर्नर भए तुरुन्त छानविन गर्न माग गर्नुभयो । उहाँले विश्व राजनीतिक र अर्थतन्त्रको परिस्थितीले अर्थतन्त्रको गम्भिरता चर्चा मात्रै नभएर अत्याश्वयक भएको बताउनुभयो ।

सांसद थापाले नेकपा एमालेप्रति लक्षित गर्दै यो वर्षको बजेटमा चक्लेट खानुभन्दा दुध पिउनतिर केन्द्रित भएर आएकाले ठिकै होला भन्ने लाग्दै गर्दा पुलपुलिएको छोराले नाई मलाई त्यही केटी चाहिन्छ भनेझैँ प्रतिपक्षको अडानले अर्थमन्त्री हटाएको बताउनुभयो ।

सांसद गजेन्द्र महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले बाँधेर राख्नुपर्ने बताउनुभयो । उहाँले दुवै बा र छोरा भएर देशलाई श्रीलंका बनाएर देशै जलाउन लागेको टिपप्णी गर्नुभयो । उहाँले बा बार्दलीमा बसेर र छोरो राज्यको ढुकुटीमा बसेर देश श्रीलंका बनाउन खोजेको आरोप लगाउनुभयो ।