Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


श्रीलंकाका राष्ट्रपतिलाई विमानस्थलबाटै फर्काइयो


1.8k
Shares

एजेन्सी । संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले गएराति देश छाडेर भाग्ने प्रयास गरेको खुलासा भएको छ ।

तर, विमानस्थलका कर्मचारीले रोकेपछि उहाँ अपमानजनक रुपमा फर्किन बाध्य भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।आर्थिक संकटबाट गुज्रेको श्रीलंकामा महिनौँको विशाल प्रदर्शनपछि राजीनामा दिने बताएका राजापाक्षे सोमबार विमानमार्फत दुबई भाग्न खोजेका थिए । तर, अध्यागमनका कर्मचारीले राजापाक्षेलाई पासपोर्टमा छाप लगाउन विमानस्थलको भीआईपी क्षेत्रमा प्रवेश गर्न नदिएपछि उहाँ पत्नीसहित नजिकैको सैन्य शिविरमा फर्किनु भएको थियो ।

अधिकारीका अनुसार राजापाक्षे अझै पनि नौसेनाको डुंगाबाट श्रीलंका छाडेर भाग्ने तयारीमा हुनुहुन्छ । राष्ट्रपति पदमा कायम रहँदासम्म राजापाक्षेलाई गिरफ्तारीबाट उन्मुक्ति प्राप्त छ ।

त्यसैले पदत्याग गर्नुअघि नै उहाँ विदेश जान चाहेको बताइएको छ । राजपाक्षेमाथि भ्रष्टाचार र आर्थिक अव्यवस्थाको आरोप छ । युद्धअपराधको आरोप पनि उहाँलाई लागेको छ ।

राजापाक्षे परिवारका सदस्यले देश छाडेर भाग्ने प्रयास गरेको खुलासापछि बेसिल, महिन्दा, प्रधानमन्त्री रनिल विक्रमासिंगे र अन्य अधिकारीलाई देशबाहिर जान प्रतिबन्ध लगाउने आदेश दिन आज सर्वोच्च अदालतमा निवेदन परेको छ ।