२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


हतियार खरिद प्रकरणः गृह मन्त्रालयसँग तीन दिनभित्र विवरण माग


169
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीलाई हातहतियार खरिद गर्न अनुमति दिएको विषयमा संसद्को अर्थ समितिले गृह मन्त्रालयसँग जवाफ मागेको छ। अर्थ समितिको सोमबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक संकट निम्तिएको र डलरको सञ्चिति घटेको बेला बजेटमा उल्लेख नभएको विषयमा सरकारले किन हतियार खरिद गर्न लागेको भन्दै मन्त्रालयसँग जवाफ मागेको हो।

समितिले मन्त्रालयसँग सम्पूर्ण कागजातसहित तीन दिनभित्र जवाफ दिनुपर्ने जनाएको छ। सरकारले तत्काल ८४ करोड रुपैयाँको हतियार खरिदका लागि नेपाल प्रहरीलाई अनुमति दिइसकेको छ। सो हतियार खरिदका लागि नेपाल प्रहरीले इटालीको एक कम्पनीबाट ल्याउने तयारी गरेको छ। इटालीको बेर्रेटा कम्पनीमा बनेका हतियार ल्याउने गरी प्रक्रिया अघि बढाइएको छ। सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगा हुने भएकाले बेर्रेटा कम्पनीबाट हतियार खरिदका लागि बुक गरिएको हो।

बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल ल्याउने प्रक्रिया अघि बढेको हो। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो मूल्य पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय मूल्यमा ल्याउने प्रक्रिया सुरु गरेको स्रोतको दाबी छ। तर नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले नेपाल प्रहरीलाई आवश्यक परेकाले खरिद प्रक्रिया अघि बढाइएको बताए। उनले नेपाल प्रहरीले सात वर्षदेखि हतियार खरिद गर्न नपाएको र अहिलेको अवस्थामा शान्तिसुरक्षा कायम गर्न हतियार खरिद गर्न लागेको बताएका हुन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।