Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


चलचित्र निर्माताहरु समस्यामा


0
Shares

सागर महर्जन (इमेज)

काठमाडौं, वैशाख २४ । कोरोनाभाइरसको संक्रमणका कारण विश्वव्यापीरुपमा जारी ‘लकडाउन’का कारण नेपाली चलचित्र उद्योग पनि प्रभावित बनेको छ ।

लकडाउनका कारण प्रदर्शनको पर्खाइमा रहेका र निर्माण भइरहेका चलचित्रको काम अघि नबढ्दा निर्माताहरु आर्थिक भार बोक्न बाध्य छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण जारी लकडाउनले जनजीवन कस्टकर बनेको छ ।

दैनिक उपभोग्य सामग्री र अत्यवाश्यक सेवा प्रदायकबाहेकका सबै कार्यालयहरु बन्द गरिएका छन् । जसले गर्दा व्यापार–व्यवसाय, शैक्षिक, आर्थिक, मनोरञ्जनलगायत सम्पूर्ण क्षेत्रमा असर परेको छ ।

लकडाउन लम्बिएकाले मनोरञ्जनको एक प्रभावकारी माध्यम मानिने चलचित्रहरु कति निर्माण सकिएर पनि प्रदर्शन हुन पाएनन् । कतिपय चलचित्रहरु छायाँकनकै दौरान रोकिएका छन् । जसले गर्दा चलचित्र निर्माताहरु मर्कामा परेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्र घोषणामै चलचित्र प्रदर्शन मिति सार्वजनिक गर्ने चलन रहिआएको छ । जसले गर्दा घोषणा गरिएकै मितिमा चलचित्र प्रदर्शन गर्न चलचित्रकर्मीहरु दिन–रात लागिपरेका हुन्छन् ।

तर, हालको परिस्थितिका कारण चलचित्र प्रदर्शन रोकिएको छ ।

छाँयाकन तथा ‘पोस्ट प्रोडक्सन’का सम्पूर्ण काम सकेर प्रदर्शन मिति कुरेर बसेका ‘म यस्तो गीत गाउँछु’, ‘हिजोआजका कुरा’, ‘लक्का जवान’, ‘सुस्केरा’, ‘चपली हाइट ३’ लगायत दर्जनौं चलचित्रहरु प्रदर्शन हुन नपाउँदा निर्माताहरु समस्यामा परेका छन् ।

एउटा चलचित्र निर्माण गर्दा निर्माताले चलचित्र प्रदर्शन गरेर आम्दानी गर्ने उद्देश्यसहित लगानी गरेका हुन्छन् भने चलचित्र प्रदर्शन हुन नपाउँदा निर्मातालाई आर्थिक भार थुप्रिन्छ । जसले गर्दा अबको दिन नयाँ चलचित्र निर्माण हुने/नहुने अन्योलसमेत देखा पर्दछ ।

हुन त लकडाउनले सम्पूर्ण क्षेत्रमा समस्या देखिएको छ । जसको एक उदाहरण नेपाली चलचित्र क्षेत्र पनि हो ।

यो संकटको समयको सदुपयोग गर्दै पुराना चलचित्रहरुको समीक्षा गर्दै भोलि निर्माण गर्ने चलचित्रहरुको रचनात्मक विकासमा योगदान दिनसके नेपाली चलचित्र क्षेत्रलाई आर्थिक पाटोमा मात्र नभइ यसको समग्र क्षेत्रलाई उकास्न सकिन्छ ।