सालिक युगको आरम्भ ! « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


सालिक युगको आरम्भ !


377
Shares

‘सालिक’ शब्दको अर्थ एकेडेमीको नेपाली वृहत् शब्दकोशमा यस्तो बताइएको छ – १. धातु, ढुङ्गा, काठ आदिबाट बनाइएको कुनै व्यक्तिको प्रतिमूर्ति, प्रतिमा, सालिग २. स्मारकका रूपमा ठूलै आकारको बनाएर सार्वजनिक स्थाल आदिमा राखिने धातु वा ढुङ्गाको मूर्ति । गए हप्ता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुत्र प्रकाश दहालको नुवाकोटमा निर्माण गरिएको सालिक एक कार्यक्रमका बिच अनावरण गरेपछि सो समाचार र अर्का माओवादी लडाकुको मृत्युको समाचारलाई जोडेर एकाएक सञ्चार माध्यमले भाइरल बनाए ।

राष्ट्रिय स्तरमा सो सालिकवाला समाचारको राप र ताप सेलाउन नपाउँदै रामेछाप जिल्लाको मन्थली–रामेछाप पुष्पलाल सडक खण्डमा पर्ने मन्थली नगरपालिका वडा नं.–१ स्थित मच्छेडाँडीमा संविधानसभा सदस्य माननीय स्व. कमलाकुमारी घिमिरे सुवेदीको अर्द्ध कदको सालिकको उद्घाटन सो नगरका प्रमुख लव श्रेष्ठले एक कार्यक्रमका बीच गरे । सो सालिक अनावरण कार्यक्रमका समाचारहरू अनलाइन र पत्रिकाहरूमा आउनासाथ अनावरण मितिलाई लिएर एकाएक विवाद सुरु भैहाल्यो ।

२०७९ साल असार २४ गते शुक्रबार गरिएको सालिक अनावरण कार्यक्रममा निर्माणकर्ताहरूको असचेतताले भुलवस अनावरण मिति सम्वत् २०७९ असार २७ गते शुक्रबार लेखिएको छ । ढुङ्गामा कुँदेर लेखिएका अक्षरहरूलाई काम चलाउ २४ गते बनाएर अनावरण गरिए पनि अहिले सामाजिक सञ्जालमा विरोध जारी छ । यी त भए सालिकबारे शैलीगत सामान्य त्रुटिचर्चा ।पछिल्लो समय काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौंमा गायक यमबुद्धको सालिक बनाउने घोषणा गरे । उनले घोषणा गरेलगत्तै मेयर शाहको सर्वत्र विरोध भइरहेको छ । उनको भनाइ समाचारमा बाहिर आएपछि मेयर शाहले उनका तर्फबाट क्लियरेन्स दिँदै पुनः भनेका छन् –‘यम बुद्धको सालिक म आफ्नै तलबबाट बनाउँछु ।’ उनको भनाइमा इमोसनल फ्लेबर आइरहेको छ ।

यतिसम्म फिदा भैहाल्नु पर्ने अवस्थामा पुग्न उनको पदीय मर्यादाले दिँदैन । फेरि जुन भनाइबाट उनी विवादास्पद बनेका छन् त्यसलाई विश्लेषण गर्दा के थाहा हुन्छ भने उनले सुरुमा सालिक बनाउने निर्णय गरे पछि विवादमा आए । आफ्नो तलबभत्ता या सुविधाका रकमले बनाउने कुरा आम जनमानसलाई सुनाइरहनु पर्दैन । त्यो उनको मानवअधिकार भित्रको कुरा हुन्छ । बाँकी रह्यो महानगरपालिकाको वार्षिक बजेटबाट बनाइने हो भने त्यसलाई नगर कार्यपालिकाको बैठकमा टेबुल गरी पास गराउनु पर्छ र मात्रै उनले बनाउन सक्छन् ।

कुराको अर्को पाटो हुन्छ । देश विकास भनेको भौतिक विकास मात्र किमार्थ होइन । कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण गर्नु समेत विकास हो । बालेनले त्यतातर्फ बोलेका होलान् उनको अभिव्यक्तिले गायकको योगदानलाई राज्यले कदर गर्नु पर्छ भनेको भए ठिक हो तर त्यसको पनि आफ्नो प्रोसेस हुन्छ । संसारमा धेरैथरी व्यक्तित्वका लाखौं करोडौँ सालिक निर्माण गरिएका छन् ।

‘मेरो सालिक नबनाउनू, कागले छेर्छ’ भनेर भाषाशास्त्री महानन्द सापकोटा भन्थे तर उनका केही सालिकहरू देशभित्र रहेका छन् । सुनसरीको इनरुवामा भगवती माध्यमिक विद्यालयको प्राङ्गणसँगे पश्चिमतिर अर्द्धकदको सालिक छ । सो सालिक बनाइनुका कारण उनले सम्वत् २०१३ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा तथा स्थानीय स्वायत्त शासन मन्त्री हुँदा आफ्नो पहलमा स्थापना गरेको विद्यालय भएकाले पछि उनको सम्झनामा सालिक निर्माण गरिएको कुरा पुराना व्यक्तिहरू अझै स्वीकार्दै छन् ।

त्यसैगरी इलामको इरौंटार भन्ने स्थानमा पनि उनको सालिक रहेको छ । भारतको आसाममा उनलाई नेपाली भाषाका अथकसेवक भनेर मानमनितो गरिन्थ्यो । सो भेगमा उनको सम्झनाका लागि सालिक बनाइएको छ । सालिकको अन्तर्य के हो ? भन्ने बारे बुझेका व्यक्तित्वहरूलाई प्रश्न राख्दा उत्तर यस्तो आउने गर्छ –‘व्यक्तिले उसको जीवनमा गरेका कामका आधारमा उसलाई भावी पिँढीले सम्झिरहोस् भन्नाका खातिर सालिक बनाइन्छ । नेपालमा खासगरी राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले बेलायतको भ्रमण गरेपछि त्यहाँका विभिन्न सहरमा राखिएका सालिकहरूका ढप र बान्कीका प्रभावमा परेर उनले सालिक बनाउन लगाए ।

काठमाडौंका विभिन्न स्थानमा छरिएर रहेका ती सालिकहरूलाई पछिपछि टुँडिखेलका चार दिवारभित्र कैद गरियो । यद्यपि केही सालिकहरू सहरका विभिन्न क्षेत्रहरूमा अहिले पनि देख्न सकिन्छन् । जुद्ध शमशेरको सालिक न्यू रोडको चोकमा रहेको छ । त्यसैगरी चार सहिद र राजा त्रिभुवनको सालिक सहिद गेटमा छ । आधुनिक शैलीमा निर्माण गरिएका ती सालिक र आकर्षक गेटको आर्किटेक्चर डिजायन इन्जिनियर शङ्करनाथ रिमालले गरेका हुन् ।

सालिकका बारेमा निबन्धकार कृष्णचन्द्रसिँह प्रधानले ‘शव सालिक विद्रोह’ नामक लामो आत्मपरक निबन्ध लेखेका छन् । त्यो निबन्ध उनको ‘सालिक’ नामक निबन्ध कृतिमा सङ्ग्रहित छ । यसमा उनले सालिक संस्कृतिको बाहक भए पनि नेपालमा यिनीहरूको उचित संरक्षण नभएको दुखेसोसाथै राणा र राजाका सालिकहरूले बेला बेलामा विवादहरू जन्माएका प्रसङ्गादिहरू उल्लेख गरेका छन् ।

पञ्चायत कालका ‘नामुद पञ्च’ तथा तात्कालीन राजसभा स्थायी समितिका सभापति भूपालमान सिँह कार्कीको पूर्ण कदको सालिक सुनसरी जिल्लाको दुहबीस्थित धरान – बिराटनगर सडकको दुहबीस्थित मुख्य बाटोमै राखिएको थियो । हिँउदका याममा कुहिरो लाग्दा त्यहाँ धेरै सडक दूर्घटनाहरू भएपछि स्थानीय बासिन्दाको चर्को विरोधमा सालिक तोडफोड गर्ने सम्मका काम भए । पछि सडक विभागले सो सिधा बाटोमा राखिएको सालिकलाई घेरेर दुवैतर्फ बाटो केही चौडा परेपछि विरोध साम्य भएथ्यो ।
सालिक स्थापनाका सन्दर्भमा एउटा इथिक्स रहेको पाइन्छ । त्यो के भने राजा महाराजाहरूका सालिकचाहिँ ती राजाहरू जिउँदै हुँदासमेत निर्माण गरिएका हुन्थे भने जनस्तरमा बनाइएका जनताका छोराछोरीका सालिकचाहिँ ती व्यक्तित्वहरूको देहान्तपश्चात् मात्र निर्माण गरिन्थे । पञ्चायतको यो इथिक्स बहुदल आएपछि फेल खायो । पछिल्लो समय नयाँ ‘राष्ट्र गान’ का रचनाकार व्याकुल माइला अर्थात् प्रदीपकुमार राईको सालिक ओखलढुङ्गाको सदरमुकाम ओखलढुङ्गा बजारमा संयुक्त रूपमा निर्माण गरेर राखिएको छ । उनको जन्मस्थान ओखलढुङ्गा भएकाले सम्मानस्वरुप त्यहाँ सालिक निर्माण गरेर राखिनु कुनै आपत्तीको विषय होइन तर जिउँदा मानिस अझ जनताको सालिक बनाउने परम्परालाई त्यस्ता कार्यहरूले प्रोत्साहन दिएको पाइन्छ ।

नेपालमा पञ्चायत कालमा राजा महाराजाहरूका सालिकबाहेक जनताका छोराछोरीहरूका सालिक तिनीहरूकै जीवन कालमा बनाइने चलन चलेको थिएन । हुलाक टिकटमा समेत चित्र अङ्कित गरेर टिकट प्रकाशन गर्ने चलन थिएन । इतिहासका प्राध्यापकहरू किन त्यसो नगरिएको भनेर सोध्दा ‘राजा महाराजाहरूको जीवन एक प्रकारले वन्द समाजमा हुन्थ्यो भने आम जनताको जीवन खुला समाजमा बित्थ्यो । टिकटमा मुहार चित्र प्रकाशित भैसकेको र सालिक निर्माण गरी उच्च सम्मान दिएको व्यक्तिले भविष्यमा कुनै जघन्य अपराध ग¥यो या फौज्दारी अभियोगमा सजाय पायो भने त्यस्ता व्यक्तिहरूको सालिक जनस्तरबाट असुरक्षित हुने भयले त्यसो नगरिएको’ भन्ने मिल्थ्यो ।

अहिले समय बद्लियो । बहुदलमा पञ्चायतले कायम राखेका संस्कारहरू भताभुङ्ग पार्दै भत्काइए । त्यसैले टिकट र सालिकका सन्दर्भहरू यतिखेर बद्लिए । २०६२/०६३ को गणतान्त्रिक आन्दोलनमा भानुभक्त र देवकोटाका सालिकहरू पर्सा, धनुषा र बारा जिल्लामा तोडफोड भएका समाचारहरू आए भने २०४६ सालको जनआन्दोलनका बेला २०४६ चैत्र २४ गते दरबार मार्गमा रहेको राजा महेन्द्रको सालिकमा चढेर तोडफोड गर्न लागेको आन्दोलनकारीलाई त्यस बेलाको सरकारले गोली हानेर चरो खसालेझैँ झार्‍यो । आफ्नै आँखाले सो कार्य देखेका उसबेलाका आन्दोलनकारीहरू अझै थर्कमान भएर घटनावर्णन गर्छन् ।

सालिक बास्तवमा इतिहास, संस्कृति र परम्परालाई सुदूर भविष्य सम्मका पिँढी दरपिँढीहरूले सम्झिने माध्यमका रूपमा लिइने गहनतम् माध्यम हुन् तर तिनको संरक्षण, महत्व र जगेर्ना गर्ने शैली समाजमा हुनुपर्यो । अहिले इटहरीको मुख्य चोकलाई त्यहाँ पहिले राखिएको वीरेन्द्रको सालिकका नामबाट वीरेन्द्र चोक राख्ने बारे बहस भैरहेको छ भने नेपालगञ्जमा रहेको सेतु विकको सालिक केही हप्ताअघि तोडफोड भएको थियो । सोही माहोलमा राजावादीहरूले राजा वीरेन्द्रको सालिक समेत एक कार्यक्रमबिच अनावरण गरे ।

सालिकलाई नागरिकहरूको भावनासँग खेल्ने इमोसनल चिज बनाउनुभन्दा पनि एउटा मान्यताको विकास गरेर कस्को–कस्को सालिक बनाउने, किन बनाउने र कहाँकहाँ बनाउने भन्ने नीतिनियम बनाएरै लागू गर्दा आजको खुला समाजमा उपयुक्त हुन्छ । आफ्ना बाउ, आमा र पारिवारिक सदस्यका सालिक व्यक्तिले आफ्नो व्यक्तिगत लागनीमा बनाएर उसको निजी घर र कम्पाउण्डमा राख्न पाउँछ तर सार्वजनिक जग्गामा राख्नचाहिँ सम्बन्धित स्थानीय तहको स्वीकृति लिनै पर्ने भन्ने नियम राखिदियो भने आफैँ यस्ता विवादहरू नियमन हुँदै जान्छन् ।

बास्तवमा नेपाललाई कोरोनाले ध्वस्त भएको प्रतिकूल समयको अर्थतन्त्रमा अर्थ बोझ थप्ने खाले यस्ता झन्झटिला कार्यको निर्माण गर्नुभन्दा बरू उत्पादन बढाउने विविध कार्यमा लाग्नु नै अहिले श्रेयश्कर हुनेछ । नत्र अघिल्लो पाँच वर्ष डल्लो परेर नेपालका प्रायः सबै स्थानीय तहले भ्यु टावर बनाएझैँ अबको पाँच वर्ष सालिक निर्माणमा लागे भने भए/नभएको बजेट अनुत्पादक कार्यमा सत्यानाश हुनेछ । यो कुरालाई बेलैमा बुद्धि पु¥याउनका लागि केन्द्रीय सरकारले नीति नियमहरू बनाएर सार्थक हस्तक्षेप गर्न अझै ढिलो गर्नु हुँदैन ।