दीपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, वैशाख २३ । कोरोनाभाइरसका कारण चलचित्र उद्योग पनि ठप्प छ ।
चलचित्र हलहरु महामारीको पहिलो निशानामा परेका थिए भने छायाँकन भइरहेका चलचित्रहरु पनि बीचमै रोकिए ।
‘लकडाउन’का कारण चलचित्र उद्योगले दैनिक एक करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरिरहेको छ ।
फिल्म हलहरु लकडाउन घोषणा हुनुभन्दा केही दिनअघि नै बन्द भएका थिए भने कोरोनाकै कारण छायाँकन भइरहेका चलचित्रहरु पनि बीचमै रोकिए ।
वसन्त र गृष्म ऋतु चलचित्र छायाँकनका लागि उर्वर समय हुने भएकाले अधिकांश चलचित्रहरु ‘फ्लोर’मा रहने गर्दछन् । त्यस्तै, चलचित्र ‘रिलिज’ गर्ने पनि यो समय उत्तम मानिन्थ्यो ।
तर, यो वर्ष कोरोनाका कारण आशा गरिएका फिल्महरु रिलिज नभइ स्थगित गर्न बाध्य भए ।
लकडाउनभन्दा अघि करिब आठओटा चलचित्र छायाँकनमा थिए र १० ओटाजति चलचित्रहरु रिलिजका लागि तयारी अवस्थामा थिए । सोही अनुपातमा फ्लोरमा रहेका चलचित्रहरुको छायाँकन पनि रोकियो ।
चलचित्र गतिविधि ठप्प हुँदा यी चलचित्रहरुले मात्र १० देखि १५ करोड घाटा खाने देखिन्छ ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी दैनिक एक करोडभन्दा माथि घाटा व्यहोरिरहेको बताउँछन् ।
कोरोना प्रकोपको कारण हलहरु सबैभन्दा बढी प्रभावित भएको समीक्षक समाजका महासचिव सामिप्यराज तिमल्सेना बताउँछन् ।
यो स्थितिलाई सामान्यरुपमा आँकलन गर्न गाह्रो छ ।
एक करोडको हाराहारीमा हलहरुले दैनिक घाटा व्यहोरिरहेको नेपाल चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय बताउँछन् ।
स्थिति सामान्य भएपछि पनि चलचित्र उद्योगले धेरै चुनौतीहरु सामना गर्नुपर्ने देखिन्छ ।
हलमा दर्शकको ‘क्रेज’ फर्काउनु, छायाँकनलाई पुरानै गतिमा फर्काउनु र स्थगित गरिएका धेरै चलचित्रको रिलिज मिति समायोजन गर्नेजस्ता चुनौतीहरु आउने छन् ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा चलचित्र उद्योगको पुनःस्थापनाको योजनाका लागि आवश्यक कार्यक्रम आउनुपर्ने सरोकारवालाहरुको माग छ ।




प्रतिक्रिया दिनुहोस्