२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024


स्वस्थ रहन योगाशन कसरी गर्ने ?


234
Shares

चन्द्र कटुवाल

योगलाई शरीर, मन, भावना, आत्मा र परमात्मासँग एकाकार हुने माध्यमको रुपमा मानिन्छ । योगमा विभिन्न चरणहरु रहेका छन् । योगमा आशन अलि बढी प्रचलनमा रहेको पाईन्छ । त्यसैले योग भनेकै आशनमात्र हो कि भनेजस्तो पनि लाग्ने गरेको छ । अष्टाङ्ग योगमा यम, नियम, आशन, प्राणायाम, प्रत्याहार ,धारणा, ध्यान र समाधी रहेका छन । तर पनि आशन अलि बढी नै चर्चा हुने गरेको पाईन्छ ।

शरीरमाद्यं खलु धर्मसाधनम् अर्थात शरीर नै माध्यम हो । यदि शरीर नै स्वस्थ भएन भने कसरी अन्य कार्य गर्न सकिन्छ त ? यसमा विभिन्न प्रकारका आशनहरु बारे छलफल गरिने छ । मुख्यगरी आशनहरुलाई चार भागमा बाँडिन्छ । उठेर गरिने आशनहरु, बसेर गरिने आशनहरु, पेटको बलले अर्थात घोप्टो परेर गरिने आशनहरु र उत्तानो परेर अर्थात ढाडको बलले गरिने आशनहरु ।

उठेर वा उभिएर गरिने आशनहरु
उभिएर वा उठेर गरिने आशनहरुले धेरै क्यालोरी खर्च गर्ने भएकोले उभिएर गरिने आशनहरुले मोटोपन घटाउनको लागि धेरै मद्दत गर्दछन ।

१. उर्धहस्ताशन वा हस्तउत्तानाशन

यो आशन उठेर गरिने वर्गमा पर्दछ । सबैभन्दा पहिले सिधा उभिने । त्यसपछि बिस्तारै दुवै हात माथि लैजाने । शरीर तनक्क तन्काउने र बिस्तारै पछाडि तर्फ झुक्ने । यसका सावधानीहरुमा उच्चरक्तचाप भएकाले धेरै पछाडि नझुक्ने । खालीपेट हुनुपर्ने । गोलीगाँठो, हिप तथा जोर्नीमा समस्या भएकाले नगर्ने । ढाडमा घाउहरु भएकोले, साईटिका तथा स्पाईनमा समस्या भएकाले नगर्ने तर ढाड दुखेकोले बिस्तारै गर्ने ।
यसका फाईदाहरु
यो सूर्य नमस्कारमा पनि प्रयोग हुन्छ । खासमा यो शरीर तताउनको लागि, ढाड तन्काउन, पेट तन्काउन र छाती तन्काउन पनि उपयुक्त हुन्छ । यसले पाचन तन्त्र बलियो पार्दछ । यसले श्वास प्रश्वास प्रणालीलाई मजबुत पार्दछ । तनाव कम गर्दछ । स्मरण शक्ति बढाउँछ । तौल घटाउन पनि यो आशन गरिन्छ ।

२. बृक्षाशन
यो पनि उभिएर गरिने आशनको वर्गमा पर्दछ । बृक्षाशन संस्कृत शब्दबाट बनेको हो । बृक्ष अर्थात रुख । यो आशनलाई ट्रि पोज पनि भनिन्छ । यो व्यालेन्स आसन हो । यसमा सुरु गर्दा एक्कासी सकिएन भने भित्तामा अडेस लागेर गर्न सकिन्छ वा भुँईमा उत्तानो परेर पनि गर्न सकिन्छ । तर पूर्ण अभ्यास भएपछि मात्र यो आशन गर्न उपयुक्त हुन्छ ।

यो आशनले शरीर र मन दुवैलाई सन्तुलन राख्न मद्दत गर्दछ । यो आशन गर्दा सबैभन्दा पहिले सिधा उभिनुपर्छ । त्यसपछि बिस्तारै दायाँ खुट्टा सिधा बनाउनु पर्छ र बायाँ खुट्टाको पैताला दायाँ गोडाको तिघ्रामा राख्नु पर्छ । यतिखेर शरीरको सम्पूर्ण भार दायाँ खुट्टामा परेको हुन्छ । शरीर सन्तुलन राख्न सकिने भएपछि बिस्तारै दुबै हतालाई माथि तर्फ लैजाने ।

दुवै हातलाई शिरभन्दामाथि तनक्क तन्काएर नमस्ते पोजिशनमा राख्ने । यतिखेर सम्पूर्ण शरीर तन्किएको हुन्छ । त्यतिबेला नजर कुनै एक बिन्दुमा टिकाएर राख्ने । यसका विभिन्न भेरियसन रहेका छन् । त्यसैले बिस्तारै झर्दा खेरी हात फैलायर ॐ को मन्त्र उच्चाहरण गर्दै पहिलेको अवस्थामा आएमा उत्तम मानिन्छ । मन्त्र उच्चाहरण नगरेर पनि गर्न सकिन्छ ।

त्यसपछि पुन अर्को खुट्टापनि सोही तरिकाले गर्नु पर्दछ । सुरुमा केहि समय अडिने कोशिस गर्ने । बिस्तारै बानी हुँदै गएपछि आशनको अवधि पनि लम्व्याउँदै जाने ।

यो आशन गर्दा अपनाउनु पर्ने सावधानीहरुमा माईग्रेन तथा ईन्सोमेनिया का बिरामीले गर्नु हुँदैन । साथै उच्चरक्तचाप भएका ब्यक्तिले पनि गर्नु हुँदैन । अन्य सावधानीहरु पेट खालि हुनु पर्दछ । अर्थात पेट भरिएको अवस्थामा गर्नु हुँदैन ।

यो आशनका फाईदाहरु :
१. शरीर र मनलाई सन्तुलनमा ल्याउँछ ।
२. सर्बाङ्ग स्ट्रेच हुन्छ ।
३. शरीरलाई लचक बनाउछ ।
४. चिन्ता तथा तनाव कम गर्छ ।
५. पाचनशक्ति बलियो पार्छ
६. निन्द्रामा सहयोगी
७. मोटोपन घटाउछ ।
८. केही हदसम्म साईटिका भएका व्यक्तिको लागि पनि राम्रो हुन्छ
९. ध्यानमा जानको लागि तयार पार्छ
१०. शरीरलाई जीर्णोद्वार गर्ने कार्य गर्दछ ।
११. खुट्टालाई बलियो पार्छ । हिपलाई लचिलो बनाउँछ ।
१२. रिस तथा डाहलाई कम गरि शान्त रहन मद्दत गर्दछ ।