२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


६० हजार बढी औद्योगिक प्रतिष्ठान, पाँच लाख व्यक्तिलाई रोजगारी


390
Shares

काठमाडौं । नेपालमा कुल ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ ।

केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

औद्योगिक प्रतिष्ठानमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । त्यस्तै, खानी तथा उत्खनन् क्षेत्रमा ३ सय ५६ वटा, विद्युत तथा ग्यास उत्पादनमा ९ सय ९४ वटा, पानी आपूर्ति, ढल निकास र फोहरमैला व्यवस्थापन क्षेत्रमा २ हजार २ सय २४ वटा उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् ।

यस्ता उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिहरुको संख्या ४ लाख ९१ हजार २ सय २७ रहेको छ । जसमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा धेरै ४ लाख ४४ हजार ९ सय ६४ जना आवद्ध छन् । यस्ता उद्योगहरुबाट रोजगार पाएका व्यक्तिको संख्या ३ लाख ८१ हजार ६ सय ८७ रहेको छ ।

तथ्याङ्क विभागले २०७५ साउन १ गतेदेखि २०७६ असार अर्थात् आर्थिक वर्ष २०७५/७६ को सर्वेक्षणमा आधारित विवरण आज सार्वजनिक गरेको हो । यो अवधिसम्ममा सञ्चालित उद्योगहरुको कुल सम्पत्ति ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ बराबर देखिन्छ ।

नयाँ तथ्यांकअनुसार ७६ प्रतिशत उद्योग प्रतिष्ठानहरु वर्षमा २ सय ७० दिन सञ्चालन हुने गरेको देखिएको छ । नेपालको अर्थतन्त्रलाई विभिन्न १७ वटा क्षेत्रमा बाँडेर औद्योगिक गणना गरिएको हो ।

यो सर्वेक्षणका लागि १३ हजार १ सय ३९ वटा उद्योग प्रतिष्ठानलाई सहभागी गराइएको पनि विभागले जनाएको छ । सर्वेक्षणले लकडाउनका समयमा उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकमाथि ठूलो आर्थिक शोषण भएको देखाएको छ ।