
गृष्मा राजभण्डारी (इमेज)
काठमाडौं, वैशाख २२ । कोरोनाभाइरसका कारण देशव्यापी ‘लकडाउन’ भएको ४२ दिन भएको छ ।
लकडाउनसँगै दैनिक उपभोग्य सामग्रीको माग घटेको छ ।
स्थानीय उत्पादनले माग धान्ने भएपनि भारतबाट तरकारी ल्याउँदा यहाँका किसानको उत्पादन भने खेर गइरहेको छ ।
काठमाडौंको बल्खुमा रहेको तरकारीबजार लकडाउनका समयमा बिहान १ बजेदेखि ९ बजेसम्म खोल्न पाउने निर्धारित् समय तोकिएको छ ।
केही बिक्रेताले स्थानीय किसानबाट खरिद गरी तरकारी बल्खुमा बिक्री गर्ने गरेका छन् भने अधिकांश भारतबाट निर्यात गरिएका तरकारीहरु रहेका छन् ।
भारतबाट तरकारी ल्याउने गरेकाले स्थानीय किसानहरुको तरकारी नबिकेको बल्खु बजारका व्यापारीहरुको भनाइ छ ।
काभ्रेको नालाका किसानबाट खरिद गरी ल्याइएको मुला र काँक्रो बिक्री भएको छैन ।
लकडाउनका कारण अधिकांश सर्वसाधारण गाउँ फर्किएको र होटलहरु बन्द रहेकाले पर्याप्त तरकारी बिक्री भएको छैन ।
भारतबाट आएको तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा आफूहरुको तरकारी बिक्री नभएको स्थानीय व्यापारीको गुनासो छ ।
यता, कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने स्थानीय किसानको उत्पादनलाई प्राथमिकता दिएको दाबी गर्छन् ।
लकडाउनका कारण बजार बन्द भएपनि स्थानीय उत्पादनलाई बजारसम्म ल्याउने व्यवस्था मिलाएको मन्त्रालयको दाबी छ ।
भारतबाट ल्याइएका तरकारी र फलफूल काठमाडौं भित्रिनेक्रम रोकिएको छैन ।
नागढुंगाकै नजिक दहचोकका एक कृषकले १७ रोपनी जग्गा भाडामा लिइ तरकारी खेती गरेको ६ वर्ष बितिसक्यो । उनले उत्पादन गरेको तरकारी पोखरा र चितवनमा बिक्री गर्ने गरेका थिए ।
तर, लकडाउनका कारण ढुवानीमा समस्या भएकाले तरकारी बिक्री गर्न नपाएको उनले बताए ।
लकडाउनको समयमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनसके स्वदेशमै उत्पादन भएको तरकारी सदुपयोग हुनेमात्र नभइ आफूहरुको उत्पादन पनि खेर नजाने कृषकहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्