Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


अमेरिकाले निर्यात भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै


3.198k
Shares

काठमाडौं । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ ।

अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्यांकले देखाएको छ ।

सुरूमा निर्यात बढेर केही समय कमी आए पनि पछिल्लो तीन वर्षदेखि भने निर्यात निरन्तर बढ्दो अवस्थामा रहेको छ । नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ उत्पादन, सल ब्ल्यांकेट, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सम्बन्धित सामानहरू निर्यात हुने गरेका छन् ।

व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म अमेरिकामा कुल निर्यात १५ अर्ब ९७ करोड ७ लाख एक हजार रुपैयाँ भन्सार छुट पाएका वस्तुको निर्यात ६३ करोड ४९ लाख ५३ लाख रुपैयाँको निर्यात भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा अमेरिकामा कुुल निर्यात १३ अर्ब ७९ करोड ३५ लाख ३४ हजार रुपैयाँ भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात ३८ करोड ७१ लाख ९ हजार रुपैयाँको निर्यात भएको थियो ।

२०७६/०७७ मा अमेरिकामा कुल निर्यात नौ अर्ब ४४ करोड ४३ लाख ६६ हजार भएकोमा भन्सार छुट पाएका ७७ वस्तुको निर्यात ३५ करोड ४८ लाख ७९ हजार रूपैयाँको निर्यात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा कुल निर्यात १० अर्ब ८४ करोड आठ लाख ६२ हजार भएकोमा छुट पाएका वस्तुको निर्यात ६८ करोड ३८ लाख १८ हजार रूपैयाँको भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा अमेरिकामा कुल निर्यात नौ अर्बको भएकोमा भन्सार छुट पाएका वस्तुको निर्यात ६७ करोड १२ लाख तीन हजार रूपैयाँको भएको थियो ।

अमेरिकाले सन् २०१५ देखि सन् २०२५ सम्म नेपाललाई ७७ वटा वस्तुहरूमा भन्सार छुटको सुविधा दिएको छ । अमेरिकाले भूकम्पपछिको नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै विशेष व्यापार ग्राह्यता दिने कानुन ल्याएर ७७ वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो ।

सोहीअनुसार भन्सार छुटमा ७७ वटा वस्तु निर्यात भइरहेका छन् ।