पहिरोले घर बगाउँदा पाँचथरमा एकै घरका तीन बेपत्ता, खोजी कार्य जारी « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


पहिरोले घर बगाउँदा पाँचथरमा एकै घरका तीन बेपत्ता, खोजी कार्य जारी


156
Shares

काठमाडौं । पाँचथरमा पहिरोले एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

अविरल वर्षापछि आएको पहिरोले स्थानीय ४२ वर्षीय रुपलाल मगरको ढुङ्गा, माटोले बनेको घर बगाएको हो । पहिरोले घर बगाउँदा रुपलालसहित उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएको प्रहरीले जनाएको छ । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् ।

घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरी चौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।