
इलाम, वैशाख १८ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबारदेखि बजार अनुगमन सुरु गरेको छ ।
‘लकडाउन’को कारण बजारमा खाद्यान्न सामग्री तथा फलफूल र तरकारीमा अत्याधिक मूल्यवृद्धि भएको गुनासो बढेपछि प्रशासन कार्यालयले अनुगमन थालेको हो ।
जिल्ला प्रशासन कार्यालय, इलाम नगरपालिका, स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रतिनिधि र सञ्चारकर्मीलगायतको संयुक्त अनुगमन टोलीले बजार अनुगमन सुरु गरेको हो ।
बिहीबार गरिएको अनुगमनमा केही किराना पसलहरुले समान लुकाएर मूल्य बढाएर बिक्री गरिरहेको, मूल्यसूचि नराखिएको, अधिकांश तरकारी पसलहरुले पहिलेकोभन्दा बढी मूल्यमा बेचिरहेको पाइएको छ ।
महँगो मूल्यमा खाद्यवस्तु खरिद गर्न बाध्य भएको उपभोक्ताहरुले गुनासो गरेपछि प्रशासनले अनुगमनलाई तीव्र बनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले लकडाउनको अवस्थामा रहेको बेला समानको मूल्य बढाएर बिक्री गर्ने व्यपारीहरुलाई कारबाही गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्